• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डंकी रुटबाट अमेरिका पुगेका थिए डिपोर्ट भएका नेपाली, फर्काइनेमा डोटी,दाङ र रुकुमका


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार काठमाडौं आइपुगेका ८ जना नेपाली ‘डंकी रुट’ (अवैध बाटो) बाट त्यहाँ पुगेको खुलेको छ ।

अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं फर्काएका ८ नेपालीसँग प्रहरीको मानवबेचबिखन तथा अनुसन्धान ब्यूरोले गरेको जाँचका क्रममा उनीहरु अवैध बाटोबाट त्यहाँ पुगेको खुलेको हो ।

ब्यूरोका एक अधिकृतका अनुसार, अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी जिल्लाका हुन् भने अरु दाङ र रुकुमका छन् । उनका अनुसार, अमेरिका जानलाई उनीहरुले ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

‘उनीहरु ५/६ महिनाअघि मात्र अमेरिका पुगेका रहेछन्, त्यहाँ पुगेको केही समयमै पक्राउ परेर मुद्दा चलाइएको रहेछ’, ती अधिकृतले थपे, ‘कतिपयलाई धरौटी त कतिलाई यत्तिकै छाडेर फर्काइदिएको रहेछ ।’

प्रहरीका अनुसार, उनीहरु विचौलियालाई त्यो रकम बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए ।

‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरु अमेरिका पुगेका थिए’, सोधपुछमा संलग्न ती अधिकृतले भने, ‘तर, त्यहाँ पुगेलगत्तै समातिएका रहेछन् ।’

प्रहरीले उनीहरुसँग सोधपुछमार्फत अमेरिका पठाउने भन्दै असुली गर्ने मानव तस्करीको र्‍याकेटसम्म पुग्ने विश्वास लिएको थियो ।

तर, उनीहरु आफूहरुलाई पठाउने व्यक्तिबारे बताउन तयार देखिएका छैनन् । बरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिएपछि फेरि जाने बताएको स्रोतको भनाइ छ ।

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएलगत्तै उनले अमेरिकामा अवैध आप्रवासीहरुप्रति कडा नीति लिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण अघि पनि उनले ११२ भारतीय नागरिकलाई डिपोर्ट गरेर पञ्जाब पठाइदिएका थिए ।

मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकृतहरुका अनुसार, उनीहरुलाई सोधपुछपछि परिवारको जिम्मा लगाउने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖