काठमाडौं : बिहान २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो।
बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनी चालक भइ भरियाको रुपमा काम गरिरहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर, उनी कसको भरिया हुन् भन्ने चाहिँ खुलेको छैन। प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो। सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका छन्। तर,उनले अहिले बरामद रकम कस्को हो भन्ने चाहिँ नखुलाएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका एसएसपी रमेश बस्नेतले पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन पठाइएको बताए। उनले भने,’अवैध रकमको बारेमा थप अनुसन्धानपछि मात्र खुल्नेछ।’
प्रहरीले उनको साथबाट उक्त रकम,एक थान मोबाइलसहित गाडी बरामद गरेको छ। प्रहरीका अनुसार उनी यसअघि राजश्व छली र सुन तस्करीमा पक्राउ परेका व्यक्ति हुन्। उनी पाँच वर्ष कैद भुक्तानी गरेर छुटेका थिए।-अन्नपूर्ण पोष्टबाट
