• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गोजीको मोबाइल पड्किँदा मोटरसाइकल दुर्घटना भयो, लड्दा अण्डकोष फुट्यो


  • धनकुटा खबर
  • .

भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा खल्तीमा राखेको मोबाइल अचानक पड्किँदा एक युवक मोटरसाइकल दुर्घटनामा परेका छन्।

भारतीय पत्रिका आजतकका अनुसार सारंगपुर निवासी १९ वर्षीय अरविन्द मंगलबार तरकारी किनेर मोटरसाइकलमा गाउँ नैनवाड़ा फर्किंदै गर्दा मोबाइल पड्किएको हो।

मोबाइल विस्फोट भएपछि उनी अनियन्त्रित भएर मोटरसाइकलबाट लडे। दुर्घटनाका कारण उनको अण्डकोष फुट्नका साथै टाउकोमा चोट लागेको छ।

गम्भीर घाइते अवस्थामा उनलाई उद्धार गरी स्थानीयले सारंगपुरस्थित अस्पताल पुर्‍याए। प्राथमिक उपचारपछि उनलाई शाजापुरमा रेफर गरिएको छ।

अरविन्दका दाजुका अनुसार अरविन्दले हालै एउटा पुरानो मोबाइल किनेका थिए। रातभर मोबाइल चार्ज गरेका मोबाइल खल्तीमा राखेर उनी बिहानै मोटरसाइकलमा तरकारी किन्न गएका थिए। अनि घर फर्किने बेला अचानक मोबाइल पड्किएर दुर्घटना भएको हो।

अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन। प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरले बताए।

विशेषज्ञका अनुसार मोबाइल पुरानो भएसँगै ब्याट्रीको क्षमता पनि घट्छ। यस्तो अवस्थामा कतिपयले ब्याट्री फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्छन्, जसले गर्दा यस्ता दुर्घटना निम्तिन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖