• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यसरी एउटा मोबाइल चोरिएको सूचना पछ्याउँदा ६ जना पाकेटमार समातिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । कोटेश्वर चोकमा प्रहरीलाई भेटेर एक जना युवतीले भनिन्, ‘मेरो मोबाइल पाकेटमाराले चोरे, एक जना पाकेटमार भर्खरै गाडीबाट ओर्लिए ।’ बिहीबार साँझ ६ बजेतिर २८ वर्षीया युवतीले दिएको सूचनालाई प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर दलकुमार राईले पछ्याए ।

युवतीको सूचनालाई पछ्याएर पाकेटमार खोज्दा कोटेश्वर चोकमै काभ्रेको बेथानचोक घर भएर ललितपुर बस्ने प्रमोद परियार पक्राउ परे । उनी भक्तपुरको थिमीबाट सार्वजनिक बसमा चढेर कोटेश्वरमा ओर्लिएका हुन् ।

थिमीबाट आउँदै गरेको बसमा चढेका ६ जना पाकेटमार मध्ये ३ जना जडिबुटीमा ओर्लिएका थिए । प्रहरीले जडीबुटीबाट ३ जनालाई नियन्त्रणमा लियो । लोकन्थलीमा ओर्लिएका दुई जना पनि पछि पक्राउ परे । ६ जना पाकेटमार र एक जना मोबाइल पसल सञ्चालकलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रवार सार्वजनिक गरेको छ । काठमाडौँका एसएसपी विश्व अधिकारीले प्रहरीको फेसबुक पेजमार्फत आरोपीहरू सार्वजनिक गरेका हुन् ।

पाकेट मारेर सङ्कलन गरिएको मोबाइल उनीहरूले भक्तपुरको च्याम्हासिंहस्थित ‘सरोज सेकेन्ड ह्याण्ड मोबाइल मर्मत केन्द्र’ मा बेच्ने गरेका थिए । आरोपीहरूको बयानको आधारमा मोबाइल मर्मत केन्द्रका सञ्चालक दोलखा घर भएका २८ वर्षीय शम्भु विश्वकर्मालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने– ‘सुरुमा पाकेटमारेको सूचना आएको थियो, हामीले सो सूचनालाई पछ्याएर चोरीमा संलग्नहरूको चेन ब्रेक गरेका छौँ ।’

बसमा चढेर पाकेट मारेको आरोपमा पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका घर भएका प्रमोद परियार, खानीखोला गाउँपालिका–५ घर भएका २६ वर्षीय गुणराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर–१ घर भएका ३० वर्षीय हेमन्त रानामगर र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ घर भएका २२ वर्षीय राजेश चालिसे छन् । दोलखा कालिन्चोकका २१ वर्षीय सविन पाण्डे र सिनामंगल घर भएर थिमी बस्ने २० वर्षीय प्रकाश कट्वाल पनि पक्राउ परेका छन् ।

पाकेटमाराले दिनभर सार्वजनिक बसमा पाकेट मारेको मोबाइल च्याम्हासिंहको ‘सरोज सेकेन्ड ह्याण्ड मोबाइल मर्मत केन्द्र’मा बेच्ने गरेका थिए । पसल सञ्चालक शम्भु विश्वकर्माले पाकेट मारेको मोबाइल बारे आफू जानकार रहेको अनुसन्धान अधिकृतहरुलाई बताएका छन् ।

उनले भनेका छन्, ‘पाकेट मारेर ल्याएको थाहा पाएर पनि मैले सस्तो पाउने हुनाले किन्ने गरेको थिएँ ।’ पाकेटमारसँग २ हजारमा किनेर उनले ५ हजारभन्दा माथि ती मोबाइल बेच्ने गरेको पाइएको छ । विश्वकर्माको पसलबाट २७१ थान मोबाइल बरामद गरिएको एसएसपी अधिकारीले जानकारी दिए । उनले भने– ‘सो पसल पनि बिना दर्ता सञ्चालन गरेको भेटिएको छ ।’

अहिले पक्राउ परेका पाकेटमारले जडीबुटी, कोटेश्वर र बालकुमारीलाई ‘बेस’ बनाउने गरेका थिए । भक्तपुर क्षेत्रमा पाकेट मारेर मोबाइल बेच्ने अर्को टिम पनि सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भक्तपुरमा सक्रिय सुमन परियार सहितका पाकेटमार फरार छन् ।

विश्वकर्माले चोरीको मोबाइलका पाटपुर्जा झिकेर अन्य मोबाइलमा फिट गरेर पनि बेच्ने गरेका थिए । उनले प्रहरीसँग भनेका छन्– ‘पसल अगाडी प्रहरी आउँदा मलाई डर लाग्थ्यो, आज पक्राउ नै परेँ ।’

पाकेटमारले मोबाइललाई ‘कान’ भन्ने कोड भाषा प्रयोग गर्ने गरेका थिए । मोबाइल नभेटिएको दिन उनीहरू पसलेसँग भन्थे, ‘आज कान फेला परेन ।’ पाकेट मारेर सङ्कलन गरेको आईफोन १८ थान र सामसङ ८३ थानसहित प्रहरीले २७१ थान मोबाइल बरामद गरेर आरोपीहरुबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖