काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाविरूद्धमा लड्न एमालेले भोलेन्टियर फोर्स बनाएको छ । एमाले नेता महेश बस्नेतले फेसबुक स्टाटस लेख्दै एमालेले मेयर बालेन शाहकाविरूद्धमा लड्न एमालेले भोलेन्टियर फोर्स गठन गरेको जानकारी दिएका छन् ।
बस्नेतले फेसबुक स्टाटसमा लेखेका छन् – “जनता मारा उनका डोजर आजसम्म जति चले चल्यो अब चल्ने छैन। नगर प्रहरीहरु माथि जनताले प्रतिवाद गर्नेछन् र जनता विरोधी उनको नगर प्रहरी र त्यसको नाइके राजु पाण्डेलाई जनताले लखेटने छन्। युवा सङ्घको आज गठीत भोलेन्टियर फोर्सले जनतालाई साथ दिनेछ l”
संघीय सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको पार्टीले एउटा पालिकाको मेयरसँग लड्न र नगरप्रहरी तथा त्यसका प्रमुखलाई लखेट्न भन्दै संगठन नै बनाउनुलाई धेरै मानिसले सहि मानेका छैनन् । बस्नेतको स्टाटसमै पनि सबै जसो कमेन्टहरू एमालेको यो कार्यका विपक्षमा आएका छन् ।
कमेन्टमा गोकर्ण ज्ञवालीले लेखेका छन्, “कम्बोडिया, गिरिबन्धु,ललिता निवास,बासबारी वाइडवडि,टीकापुर जग्गा प्रकरण लगायत दर्जन काण्डको कहिले छानबिन हुन्छ ?” त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता पुर्वेली रोशनले लेखेका छन्, “तिम्रा “बा” को शासन जतिञ्जेल टिक्छ, बर्बराइराख ! आम सर्वसाधारणले कसलाई साथ दिन्छन्, सब समयले देखाउनेछ ।”
महेश बस्नेतको पुरा स्टाटस यस्तो छ :
काठमाडौं टावरको नक्सा पास सम्बन्धी विवाद टुंग्याउन नसकेर दोषको भारी प्रमुख प्रशासकीय अधिकृतमाथि भिडाउने प्रयत्न सफल नभएपछि सरकारको मिलेमतो रहेको दावि गर्दै काठमाडौं महानगर को निर्णय भन्दै उक्त टावरको भवन भत्काउने निर्णय गरेको भनि आफ्नो स्वकीय सचिव भूपदेव शाह मार्फत मेयर बालेन शाहले प्रचारको अर्को स्टडन्टबाजी गर्न भ्याएछन्।
यो निर्णय साँच्चै भएको हो भने उनको लागि यो घातक हुनेछ। आग्रह कुण्ठा र रिसइबी साँधेर प्रमुख प्रशासकीय अधिकृतलाई हतियार बनाएर सरकारसँग र एमालेसँग बालेन लड्न खोजेको हो भने जनता मारा उनका डोजर आजसम्म जति चले चल्यो अब चल्ने छैन। नगर प्रहरीहरु माथि जनताले प्रतिवाद गर्नेछन् र जनता विरोधी उनको नगर प्रहरी र त्यसको नाइके राजु पाण्डेलाई जनताले लखेटने छन्। युवा सङ्घको आज गठीत भोलेन्टियर फोर्सले जनतालाई साथ दिनेछ l
