• Friday 30th of October 2026

डराउँदिनँ भन्दै प्रदर्शनकारीलाई भड्काएका दुर्गा प्रसाईँ फोन अफ गरेर फरार, खोज्दै प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौ । राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईँ शुक्रवार आन्दोलनकारीलाई भड्काएर भाग्न खोजे । चारैतिर भीड थियो । प्रदर्शनकारीलाई बानेश्वरतिर जानबाट रोक्न बाक्लो सङ्ख्यामा प्रहरी सुरक्षा रेखा बनाएर बसेको थियो ।

प्रसाईँ केही बेर सटरभित्र लुकेर बसेका थिए । आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले आफूलाई पक्राउ गर्ने तयारी गरेको प्रसाईँले थाहा पाए ।

यसपछि भाग्ने उद्देश्यले उनी गाडी चलाएर प्रहरी घेरातिर अघि बढे । उनको गाडीमा ज्योतिषी पुष्कर खतिवडा पनि थिए । एक जनाले प्रसाईँको गाडीले सुरक्षाकर्मीलाई पेलेर अघि बढेको भिडियो गाडीभित्रै बसेर खिचिरहेका थिए ।

प्रसाईँ भने ‘आऊ आऊ’ भनेर प्रहरीलाई ललकार्दै, प्रदर्शनकारीलाई उक्साउँदै आफैँ गाडी चलाएर अघि बढिरहेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि नै गाडी चढाउन खोजेका उनी त्यहाँबाट शंखमूल हुँदै ललितपुरको इमाडोल पुगेको प्रहरी स्रोत बताउँछ । इमाडोलमा ज्योतिष पुष्कर खतिवडाको घर छ । त्यहीँबाट प्रसाईँले आफूलाई प्रहरीले जहाँ बोलाए पनि आउने भनेर फेसबुकमा स्ट्याटस लेखेका थिए ।

खतिवडाको घरमा केही फलफूल खाएका प्रसाईँ त्यसपछि फोन अफ गरेर फरार भएका छन् । खतिवडालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । प्रसाईँको अन्तिम लोकेसन पनि इमाडोल क्षेत्र नै देखिएको प्रहरी बताउँछ ।

प्रसाईँको नेतृत्वमा शुक्रवार भएको राजावादी प्रदर्शनमा हिंसा भड्किँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ अरू घाइते छन् । राजावादी प्रदर्शनकारीले भाटभटेनी सुपर मार्केटमा लुटपाट मच्चाएका थिए । सञ्चार गृहदेखि पार्टी कार्यालय र व्यक्तिका घरसम्म पसेर तोडफोड तथा आगजनी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖