• Friday 30th of October 2026

शुक्रवारको घटनामा पूर्व राजाको संलग्नता के ? लाखौं फलोअर्सवाला फेसबुक पेजमाथि पनि अनुसन्धान


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले शुक्रवार काठमाडौंको तीनकुने,कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको आगजनी,लुटपाट तथा हिंसाको घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको संलग्नता पुष्टि गर्न प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ । सरकारले उनको पासपोर्ट रद्द गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ ।

प्रमुख विपक्षी दलका नेता प्रचण्डसहित विपक्षी दलहरुबाट समेत पूर्व राजामाथि कारवाही अघि बढाउन दबाब आएसँगै राजावादी आन्दोलनको पूर्वसन्ध्यादेखि घटना भएको दिनसम्म ज्ञानेन्द्र शाहको संलग्नतामाथि अनुसन्धान थालिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो,उपत्यका अपराध महाशाखा र महानगरीय प्रहरीका साथै अनुसन्धान विभागबाट समेत एकसाथ शुक्रवार भएको अकल्पनीय घनको विश्लेषण तथा यसको योजनाकारबारे अनुसन्धान थालिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरुलाई शुक्रवार राति नै बालुवाटार बोलाएर निर्देशन दिइसकिएको थियो । विहीवार निर्मल निवास बोलाएर पूर्व राजाले नवराज सुवेदी र दुर्गा प्रसाईलाई पालैपालो निर्देशन दिएको र त्यसलगत्तै प्रसाईले अब नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने धम्की दिएको विषयलाई सुरक्षा निकायले नोटिसमा लिएको छ ।

आइजिपी दिपक थापाले घटनाको विश्लेषण गर्ने र प्राप्त तथ्यका आधारमा कसैलाई पनि नछाड्ने बताएका छन् । पूर्व राजाको निवासबाट विहीवार दिउँसो दुर्गा प्रसाई निस्किएको भिडिओ समेत मिडियामा आइसकेको र पछिल्लो राजावादी आन्दोलनको आह्वान नै ज्ञानेन्द्रले गरेका कारण उनीमाथि अनुसन्धान हुने सुरक्षा स्रोतले जनाएको छ ।

यसैबीच राजावादी आन्दोलन उक्साउने खालका सफ्ट कन्टेन्ट प्रवाह गर्ने केही फेसबुक पेज,सोसल मिडिया प्लेटफर्म र केही डिजिटल मिडिया समेत अनुसन्धानको दायरमा तानिएका छन् । राजावादी हिंसा र ती फेसबुक पेजको ‘नेक्सस’ पुष्टि हुने केही प्रमाण फेला परेको महाशाखाका अधिकारीहरुले बताएका छन् ।

लाखौं फलोअर्स भएको एउटा फेसबुक पेजलाई विज्ञापनकै रुपमा प्रायोजन गरेको पाइएको छ । केही समययता धेरै फलोअर्स भएका फेसबुक पेजहरुमार्फत हिंसा भड्काउने सामग्रीहरु पोष्ट गरिएका र त्यसमा आन्दोलनको नेतृत्वकर्ताहरुको आर्थिक समझदारी भएको आशंका गरिएको ती अधिकारीले बताए ।

ती अधिकारीले भने–मूलधारका सन्चारमाध्यमलाई कमजोर बनाउने र सामाजिक संजाल प्लेटफर्ममार्फत अराजकता मच्चाउने नियोजित प्रयास लामो समयदेखि भइरहेकै हो । सिंहदरवार चलाउने,टुकुचामा गाड्नेजस्ता हिंसात्मक अभिव्यक्ति पनि आएका हुन् । पछिल्लो समय मिलियन फलोअर्स भएका फेसबुक पेज प्लेटफर्मसँग ठूलो रकमा डील भएको सूचना समेत आएपछि नेक्सस खोज्दैछौं

लाखौं फलोअर्स भएको एउटा फेसबुक पेजले शुक्रवार विहानै राजावादी आन्दोलन उक्साउने प्रकारले कन्टेन्ट पोष्ट गरेको विषयलाई समेत नोटिसमा लिएर यस्ता पेजहरुको अनुसन्धान थालिएको प्रहरी अधिकारीहरुले बताएका छन् । कतिपय पेजहरुलाई लाखौं खर्चेर बुष्ट गर्ने गरिएको र त्यहाँ यस्तो सामग्रीहरु पोष्ट गरेको पाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖