• Monday 5th of October 2026

च्याम्पियन्स लिगको फाइनल हेर्न जब यी दुई युवा २७ घण्टा बाथरुममा लुके !


  • धनकुटा खबर
  • .

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल अघिल्लो साता जर्मनीको म्युनिखमा देखिएको थियो । मे ३१ तारिखमा खेलिएको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बलियो इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानलाई ५–० गोलले हराउँदै उपाधि चुमेको थियो ।

यहाँ च्याम्पियन्स लिगको फाइनल खेलको भन्दा पनि पीएसजी र इन्टर मिलानबिचको उपाधि भिडन्त हेर्न दुई युवाले गरेको चर्तिकलाको चर्चा गर्न खोजिएको हो । खासमा बेल्जियमका निल रेमेरी र सिन हेवरबेकसँग च्याम्पियन्स लिगको दुई वटा टिकट खरिद गर्न पैसा थिएन ।

यी दुवै युवा फाइनल हेर्न जसातेसो बेल्जियमबाट जर्मनी पुगेका थिए । फाइनल खेलभन्दा एक दिनअघि नै उनीहरू म्युनिख पुगिसकेका थिए । त्यसपछि उनीहरू अघिल्लो दिन नै मजदुरको भेष बनाएर रङ्गशालाभित्र प्रवेश गरेका थिए । उनीहरूले टिकटकर पनि हुन् ।

यी दुई युवाले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफूहरूले च्याम्पियन्स लिगको फाइनल हेर्न लगाएको जुक्तिको बारेमा बताएका छन् । ‘फाइनलभन्दा एक दिनअघि श्रमिकहरू रङ्गशालामा काम गरिरहेका थिए । हामी पनि श्रमिक बनेर रङ्गशालामा प्रवेश गर्‍यौँ,’ उनीहरूले भनेका छन् ।

त्यसपछि अन्य श्रमिकसँग मिलेर आफूहरूले रङ्गशालामा काम गरेको पनि उनीहरूले बताएका छन् । ‘त्यसपछि हामी बाथरुममा गएर बस्यौँ । बाहिर ढोकामा यो बाथरुम बिग्रिएको छ भनेर सूचना टाँसेका थियौँ । त्यसैले अरू कसैले त्यो बाथरुमको ढोका नै खोलेनन्,’ उनीहरूले बताएका छन् ।

आफूहरूले फाइनल खेल सुरु हुनुअघि २७ घण्टा त्यो बाथरुममा बिताएको पनि निल र सिनले बताएका छन् । ‘हामी लगातार २७ घण्टा त्यो बाथरुममा बस्यौँ । हामीले खाने सामान आफैसँग लगेका थियौँ । समय बिताउनका लागि फोनमा गेम खेलेर बस्यौँ,’ निलले भनेका छन् ।

लामो समय सानो बाथरुममा बस्दा शारीरिक र मानसिक रूपमा भने थकित भएको अनुभव पनि उनीहरूले सुनाएका छौँ । ‘रातभर स्टेडियमको बत्ती बलिरहेकाले खासै समस्या भएन । तर, लामो समय एउटा सानो ठाउँमा बस्दा शारीरिक र मानसिक थकान भने निकै हुने रहेछ,’ सिनले भनेका छन् ।

खेल सुरु हुनुअघि मात्र आफूहरू बाथरुमबाट बाहिर निस्किएको उनीहरूले बताएका छन् । ‘खेल सुरु हुनुअघि दर्शक रङ्गशालामा आउन थालेका थिए । त्यसपछि हामी पनि चनाखो हुँदै बाथरुमबाट निस्किएर दर्शक दीर्घामा पुग्यौँ,’ उनीहरूले आफ्नो चर्तिकला बताएका छन् ।

निल र सिनले यसअघि आफूहरू बेल्जियम कपको फाइनलमा पनि यसरी नै रङ्गशालाभित्र प्रवेश गरेको बताएका छन् । ‘हामीले यसअघि टिकट खरिद नगरी बेल्जियम कपको फाइनल पनि हेरेका थियौँ । त्यतिबेला हामी चिप्स बेच्ने व्यक्तिको भेष बनाएर रङ्गशालाभित्र प्रवेश गरेका थियौँ,’ निल भन्छन् ।

च्याम्पियन्स लिग फुटबलको फाइनल हेर्नु आफूहरूका लागि फरक अनुभव भएको पनि उनीहरूले बताएका छन् । ‘वास्तवमै फाइनल खेल गजबको थियो । हामी पीएसजीको समर्थक बस्ने स्थानमा थियौँ । पीएसजीले जित्दा निकै खुसी लाग्यो,’ सिनले भनेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖