• Wednesday 28th of October 2026

सर्भर विदेशमा राखेर अनलाइनमार्फत कारोबार गरी नेपालमा कर छली, सात जना विरुद्ध १ अर्ब ३६ करोडको मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सर्भर विदेशमा राखेर अनलाइनमार्फत कारोबार गरी कर छली गरेको आरोपमा एक कुरियर कम्पनीविरुद्ध १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको माग दाबीसहित मुद्दा दायर गरेको छ। विभागले आइतबार काठमाडौँको तीनकुनेस्थित ‘नेपाल क्यान मुभ प्रा‍लि‍’ र त्यसका सञ्चालकसहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार कम्पनीले आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोग हुने अनलाइन पोर्टल नेपाल क्यानमुभ डटकमको सर्भर अस्ट्रेलियामा राखेर नेपालमा कारोबार गर्दै नेपालको कर प्रशासनको निगरानीबाट बच्ने प्रयास गरेको थियो।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ फागुनसम्मको कारोबारमा कम्पनीले उक्त पोर्टलबाट भएको वास्तविक बिक्री आय लुकाएर आन्तरिक राजस्व विभागमा कम कारोबार देखाएको अनुसन्धानबाट खुलेको छ।

विभागले जारी गरेको विज्ञप्तिमा उक्त कम्पनीले उक्त पोर्टलको सर्भर अस्ट्रेलियामा राखी सेवा बिक्रीको ठुलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको भ्याट आय विवरणमा नदेखाएको र बिक्री आय लुकाई छिपाई ठुलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको उल्लेख गरिएको छ ।

अनुसन्धानको क्रममा कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर समेत गरी ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ बराबरको करयोग्य कारोबार लुकाएको भेटिएको विभागको ठहर छ।

विभागले कर छली भएको कूल बिगो रकम ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ कायम गरेको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार बिगोको शतप्रतिशत जरिवाना अर्थात् ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ थप गरी कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ असुलउपर गर्न माग दाबी गरेको छ।

विभागले उक्त पोर्टलको सञ्चालक कम्पनी ‘नेपाल क्यान ग्रुप प्रालि’ तथा सो कम्पनीको सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल र कम्पनीका उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई प्रतिवादी बनाएको छ।

कम्पनीका मुख्य सेयर धनीहरू सुदिप आचार्य र जीवन ज्ञवालीलाई पटक–पटक ताकेता गर्दा पनि उपस्थित नभई फरार रहेको विभागले जनाएको छ। उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई भने मुख्य कसुरदारलाई सहयोग गरेको भन्दै मतियारका रूपमा आधा सजायको माग गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖