• Tuesday 6th of October 2026

हमासको आक्रमणमा घाइते भएका दाङका प्रवीणसँग भयो परिवारको कुरा


  • धनकुटा खबर
  • .

युद्धरत मुलुक इजरायलमा रहेका दाङको दंगीशरण गाउँपालिका- ३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगीले परिवारसँग कुराकानी गरेका छन्।
उनका बुवा निमबहादुर डाँगीले छोरासँग आइतबार दिउँसो २ बजेपछि छोटो कुरा गर्न पाएको सेतोपाटीलाई बताए।

‘छोरासँग मैले भर्खरै फोन कुरा गरें,’ उनले भने, ‘बाबुले नर्सको मोबाइलबाट फोन गरेको थियो।’

प्रवीण आफ्नो एउटा खुट्टा घुँडा मुनिबाट छिनालिएको र अर्को खुट्टामा गोली लागेको कुरा गर्नासाथ नर्सले फोन खोसेको बुवा निमबहादुरले सेतोपाटीलाई बताए।

‘सम्पर्कविहीन रहेको छोरा बितेको १४ घन्टापछि सम्पर्कमा आएका छन्,’ निमबहादुरले भने, ‘गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेको भन्ने कुरा सुन्दा सम्हालिन मुस्किल परिरहेको छ।’

उनले छोराको उपचार र सुरक्षाको लागि नेपाल सरकार गम्भीर रूपमा लाग्ने विश्वास व्यक्त गरे।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार इजरायलस्थित नेपाली दूतावासले पनि प्रवीणसँग सम्पर्क गरेको छ। प्रवीणको सोरोका मेडिकल सेन्टरमा उपचार भइरहेको छ।

शनिबार दिउँसोदेखि परिवारले प्रवीणसँग सम्पर्क गर्न सकेका थिएनन्।

प्रवीणसँगै इजरायल गएका दाङको तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौरीका समर्पण आचार्यले प्रवीणको अस्पतालमा उपचार भइरहेको कुरा यसअघि सेतोपाटीलाई जानकारी दिएका थिए।

‘मैले प्रवीणलाई फोन गर्दा नर्सले फोन उठाएकी थिइन्,’ उनले भनेका थिए, ‘नर्सले अंग्रेजी नबुझ्ने हुँदा प्रवीणलाई कहाँ कति चोट लागेको छ भन्ने कुरा बुझ्न सकिएन।’

समर्पणले आफू भने अहिलेसम्म सुरक्षित रहेको र आफू बस्ने ठाउँ पनि सुरक्षित रहेको जानकारी दिए।
-नारायण खड्का/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖