• Tuesday 6th of October 2026

बङ्कर भित्रबाट कल्पना भन्छिन्: कति बेला के हुन्छ थाहा छैन, चाउचाउ र पानीको भरमा छौँ


  • धनकुटा खबर
  • .

इजरायली युद्धमा फसेकी सुदूरपश्चिम विश्वविद्यालयकी विद्यार्थी कल्पना जोशीले सानो बङ्करमा १८ जना बसिरहेको बताएकी छिन्। उनका अनुसार बङ्करमा १२ जना छात्रा र ६ छात्र छन्।

फेसबुक प्यासेन्जरमार्फत जानकारी दिँदै उनले अहिलेसम्म आफूहरू सुरक्षित रहेको बताएकी छन्। जोशीले सबै जना नेपालबाट ल्याएको चाउचाउ र पानीको भरमा बाँचिरहेको बताइन्। सानो बङ्कर भएकाले बसाई निकै कष्टकर भइरहेको उनको भनाइ छ।

उनले कलेजको फेसबुक ग्रुपमा अर्को फर्ममा कार्यरत साथीहरूले आफूहरूलाई नेपाल फर्काउन हारगुहार गरेको देखेपछि त्यति बेला खासै समस्या नलागेको बताइन।

‘बिहानै कलेजको ग्रुपमा म्यासेज गरेका थिए। हिजो हामीलाई बचाउ नेपाल फर्काउने व्यवस्था मिलाउ भन्दै थिए। त्यति बेला त्यत्ति गाह्रो भैसकेको थिएन। हामीले मजाकमा लियौँ। हामीलाई सामान्य लागिरहेको थियो’ उनले भनिन्, ‘उनीहरूको म्यासेज आएपछि बल्ल होस उड्यो। त्यसपछि अवस्था झन बिग्रियो। गाह्रो हुँदै गयो।’

उनका अनुसार अहिले ४९ मध्ये १२ जना साथीहरू सम्पर्क विहीन छन्। ५ जना गम्भीर घाइते छन्। उनीहरूको उपचार भइरहेको छ।

‘हामी हाम्रा साथीहरू सकुशल हुन भन्ने प्रार्थना बाहेक केही गर्न सकिराखेका छैनौँ’ उनले भनिन्, ‘यता नि कति बेला के हुने हो केही थाहा छैन।’ उनले आफूहरू मानसिक रुपमा निकै विक्षिप्त रहेको बताइन्।

जोशी लगायतका १८ जना इजरायलको मिभ्ताहिम शहरको सोरासिम कृषि फर्ममा कार्यरत छन्। उनीहरु मध्ये ३ जना सुदूरपश्चिम विश्वविद्यालय र १५ जना कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका विद्यार्थीहरू हुन्।

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमेस्टरका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरु मध्ये १० जना छात्रा रहेका छन्। उनीहरु १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो। -योगेश रावल/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖