काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताएका हुन् ।
उपाध्यक्ष सापकोटाले सदनमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दबाब दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे । सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको, त्यसको तयारी रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गइरहेकाले आफूहरूले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।
“अब विस्तारै आन्दोलनको तयारी गर्नुपर्छ । जनतालाई नै जागृत गरेर जनताको दबाब सृष्टि नगरी अहिले हुनेवाला छैन । किनभने सदनमा हाम्रो संख्या पनि कम छ भनेर हामीले अब आन्दोलनको तयारी गर्नुपर्छ भन्ने समझदारी बनाएका छौँ । र, म अहिले तपाईंहरूलाई आन्दोलनको तयारीतिर त्यसको मानसिकता बनाउनका लागि आग्रह गर्न चाहन्छु,” उनले भने ।
उपाध्यक्ष सापकोटाले सत्तारूढ कांग्रेस–एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको जिकिर गरे ।
