काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन् भनिरहँदा सञ्चार मन्त्रालयमा भने यसैबारे निर्णय गर्न बैठक बसिरहेको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागीमा छन् ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार अहिले निर्णय लेख्ने काम भइरहेको छ । सम्भवत: आजै रातिदेखि लागू हुने गरी मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गर्ने सम्भावना रहेको ती अधिकारी बताउँछन् ।
सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । तर, यो समाचार तयार पार्दासम्म कुनै पनि ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।
