काठमाडौ । ललितपुरको हरिसिद्धीमा घटेको एउटा सडक दुर्घटनाले फेरि एकपटक नेपालमा शक्ति, जिम्मेवारी र कानूनको प्रश्न उठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले जेब्रा क्रसिङ नजिक बाटो काट्न लागेकी ११ वर्षीया बालिकालाई ठक्कर दियो। दुर्घटना हुन सक्छ—यसलाई पूर्णतया अस्वीकार गर्न सकिँदैन। तर दुर्घटना भइसकेपछि मन्त्रीको गाडी रोकिएन, बरु हुँइकिँदै अघि बढ्यो। यही व्यवहार नै आज आलोचनाको मूल कारण हो।
यदि यो घटना भवितव्य थियो भने त्यसपछि तत्काल गाडी रोक्नु, पीडितलाई अस्पताल पुर्याउनु र घटना प्रति मानवीय संवेदना देखाउनु मन्त्रीको नैतिक र कानुनी जिम्मेवारी हो। तर मन्त्रीको गाडीले त्यो गर्न सकेन। बरु एक महिलाले सडकमै लडिरहेकी बालिकालाई उठाइन्, जसले हाम्रो समाजमा “मानवता साधारण नागरिकबाट मात्रै सम्भव हुन्छ” भन्ने तीतो यथार्थ उजागर गर्यो।
घटनाको अर्को गम्भीर पक्ष के हो भने—ठक्कर जेब्रा क्रसिङ नजिकै भयो। सामान्य नागरिकलाई दिनहुँ ट्राफिक प्रहरीले “जेब्रा क्रसिङ पालना गर” भनेर थिचिरहँदा मन्त्रीकै गाडीले त्यसको अवहेलना गर्नु न्यायसंगत कसरी मान्न सकिन्छ? जब कानून बनाउने र नीति निर्धारण गर्ने व्यक्ति वा संस्थाले नै नियम तोड्छन्, त्यतिबेला आम नागरिकबाट कानूनी पालना गर्ने अपेक्षा गर्नु कपट मात्र हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस घटनालाई “सामान्य” भन्दै राजनीतिकरण नगर्न आग्रह गरे। तर के ११ वर्षीया बालिकालाई ठक्कर दिने घटना सामान्य हो? के सत्तामा भएकाले दुर्घटनापछि भाग्नु सामान्य हो? जब नेतृत्व नै पीडितको पीडा सँगै उभिनुभन्दा कान्छो बनाउने प्रयास गर्छ, तब जनताको न्यायप्रतिको विश्वास थप कमजोर हुन्छ।
यो घटना केवल एउटा बालिकालाई ठक्कर दिने विषय मात्र होइन। यो हाम्रो शासन प्रणाली, नेताहरूको चरित्र र शक्तिमा पुगेपछि कानूनी र नैतिक उत्तरदायित्वबिनाको संस्कृतिको प्रतिबिम्ब हो। गाडी रोक्नुको साटो भाग्नु भनेको अपराध ढाकछोप गर्ने मानसिकता हो।
दुर्घटना भवितव्य हुनसक्छ, तर दुर्घटनापछि गाडी रोक्नु, सहयोग गर्नु, र मानवीयता देखाउनु अनिवार्य हुन्छ। जब मन्त्रीकै गाडी हुँइकिँदै भाग्छ, तब यो केवल सडक दुर्घटना मात्र होइन, राज्यको नैतिक पतनको संकेत हो।-हिमाली पत्रिका
