• Sunday 25th of October 2026

सात वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकी नागरिक डेनियल स्टेभेन कर्नीलाई परिवारसहित नेपालबाट डिपोर्ट


  • धनकुटा खबर
  • .

सात वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकी नागरिक डेनियल स्टेभेन कर्नीलाई परिवारसहित नेपालबाट डिपोर्ट गरिएको छ। अध्यागमन विभागले गत भदौ १० गते नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनलाई ११ वर्षसम्म पुनः नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै शनिबार निष्कासन गरेको हो।

विभागका अनुसार कर्नी व्यावसायिक भिसामा नेपाल आएका थिए, तर उनले “पब्लिकेसन्स”को नाममा क्रिश्चियन धर्मप्रचारसम्बन्धी पुस्तक प्रकाशित गर्ने, ललितपुरलगायतका स्थानहरूमा धर्म प्रचार गर्ने र एउटा बालगृह सञ्चालनमा अप्रत्यक्ष रूपमा संलग्न रहने जस्ता गतिविधि गरेका थिए। अनुसन्धानमा दुर्गम क्षेत्रका बालबालिकालाई पढाउने नाममा धर्म सिकाउने गरेको पुष्टि भएको विभागले जनाएको छ।

यसबाहेक कर्नी भारतबाट पनि सन् २०१७ मा डिपोर्ट भएको तथ्य भेटिएको छ। विभागले भिसाको उद्देश्य विपरीत काम, सार्वजनिक स्थानमा धर्मप्रचार र संदिग्ध आचरणका कारण कर्नीलाई ५०,००० रुपैयाँ जरिवानासहित डिपोर्ट गरेको हो।

कर्नीका श्रीमती र उनका ६ छोराछोरी पनि व्यावसायिक भिसामा नेपाल बस्दै आएका थिए। कर्नीको भिसा रद्द भएसँगै उनीहरूको डिपेन्डेन्ट भिसा पनि स्वतः रद्द भएको विभागले जनाएको छ। परिवारले चाहेको खण्डमा पर्यटक भिसामा बस्न सक्ने भए पनि कर्नीले अमेरिका फर्कने निर्णय गरेपछि उनीहरूलाई समेत डिपोर्ट गरिएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖