• Sunday 4th of October 2026

वैदेशिक रोजगारीमा जानेको मृगौला खराबी जोखिम धेरै


  • धनकुटा खबर
  • .

एक अध्ययनले वैदेशिक रोजगारीमा जानेहरूको मृगौला जोखिम धेरै देखाएको छ। बेलायतको बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपाल नामक संस्थाले गरेको एक अध्ययनले यस्तो देखाएको हो।

मलेसिया तथा खाडीका विभिन्न मुलुकमा कार्यरत नेपालीहरू मृगौलासम्बन्धी बढ्दो समस्याका बारेमा चासो उठिरहँदा यस विषयमा अनुसन्धान गरिएको अनुसन्धानकर्ता डा. निर्मल अर्यालले बताए।

विभिन्न साझेदार संस्थाहरूसँग समन्वय गरी धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ गाउँपालिकामा अध्ययन गरिएको हो।
अध्ययनमा विगत एक वर्षभित्र खाडीका ६ मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी नेपाल फर्किएका ७१८ जना पुरूष र स्थानीय ७२० (३७९ पुरूष र ३४१ महिला) बीच तुलना गरिएको थियो।

उक्त दुई पालिकामा पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका पुरूष मात्रै पाइएकाले उनीहरू मात्रै अध्ययनमा संलग्न गरिएको अनुसन्धानकर्ताले बताएका छन्।

उनीहरूले रगत भएको क्रियटिनिन तत्वको मात्राका आधारमा मृगौलाले एक मिनेटमा कति रगत छान्छ भनेर हेरेका थिए। अध्ययनले विदेश जानेहरूमा मृगौलाको कार्यक्षमतामा कमी आएको देखाएको हो।

खाडी र मलेसियाबाट फर्केका नेपाली आप्रवासीहरूमा स्थानीयको तुलनामा उच्च रक्तचाप, मधुमेह, मोटोपनलगायत समस्या पनि बढी देखिएको छ।
विदेशको वातावरणीय अवस्था, अत्यधिक गर्मी, पानी कम खाने, खानपिन लगायत कारण खाडी तथा मलेसियामा कार्यरत नेपालीहरूमा समस्या देखिएको अध्ययनले देखाएको हो।

कतिपयमा पहिल्यै मृगौला खराबीको जोखिम रहेको पाइएको पनि अनुसन्धानकर्ताहरूले बताएका छन्।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई विभिन्न जोखिम तथा लाग्न सक्ने रोग सम्बन्धमा सचेत बनाएर पठाउनुपर्ने उनीहरूको जोड छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖