सल्यान, असोज २२ गते । शारदा नगरपालिका –३ साहुटोल अहिले शोकमय छ । गाउँको तिक्ष्ण, मेहनती युवा अध्ययनका लागि इजरायल पुगेका प्रवेश भण्डारीको निधनको खवरसँगै गाउँ शोकमय बनेको हो ।
गएको भदौ २० गते सल्यान शारदा नगरपालिका –३ साहुटोल सिरुवारका प्रवेश भण्डारी इजरायल जानुभएको थियो । बुवाआमाका बुढेसकालको सहारा एक्लो छोरा हुनुहुन्थ्यो उहाँ । उहाँसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुग्नुभएको थियो ।
इजरायल पुगेका प्रवेशले फोन गर्दा वुवा आमालाई फर्किएर आएपछि नयाँ घर बनाउने योजना सुनाउनुभएको थियो । उहाँ भन्नुहुन्थ्यो, “आफ्नो चिन्ता नगर्न वुवा आमालाई आग्रह गरेको थियो ।” वुवा (४५) चक्रवहादुर भण्डारीले भन्नुभयो, “फोनमा कुरा हुँदा बुवाआमा अब तपाईंले धेरै दुःख गर्नु पर्दैन है ! अब तपाईंको छोरा कमाउने भैसक्यो, चिन्ता नगर्नुस । दिदी पनि टाढा छिन, म नयाँ घर बनाएपछि दिदीलाई पनि नयाँ घरमा ल्याएर राख्छु ।”
शुक्रबार अन्तिम फोन सम्वाद भएको परिवारको भनाइ छ । इजरायल पुगेपछि परिवारसँग निरन्तर फोन सम्पर्कमा रहेका प्रवेशले वुवा मेरा चिन्ता नगर्नुस् अब म भोलि शनिबार कुरा गर्छु भन्दै फोन राख्नुभएको थियो । वुवाले फोन वार्ता सम्झदै भन्नुभयो, “संधै चिन्ता नलिनुहोस् । धेरै दुख गर्नु पर्दैन है । अव तपाईको छोरा कमाउने भैसक्यो चिन्ता नगर्नुस् भन्थ्यो ।”
शनिबार प्रवेशसँग कुराकानी गर्ने प्रतीक्षामा बसेका परिवारका सदस्यले उहाँलाई अनलाइनमा देखेनन् । शुक्रबार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको थियो । छोरालाई पटक–पटक अनलाइनमा खोजे तर देखेनन् ।
सानीआमा शोभा सेजवालले भन्नुभयो, ‘ग्रुपमा कल गरेको रहेछ, मैले फोन उठाउन पाइनँ, भोलि शनिबार आमाबुवासँग बोल्छु, बोलाइदिनुहोला भनेर एसएमएस छाडेको थियो ।”
जव इजरायलमा भएको घटना सार्वजनिक भयो । उहाँको वुवा आत्तिनुभयो । रेडियोबाट मात्र आक्रमण भइरहेको खबर सुनिरहनु भयो । तर पनि छोराको खबर पाउन सक्नु भएको थिएन । छोरासँगको सम्पर्क टुटेपछि बुवा चक्र र आमा चन्द्रिका अत्तालिनुभयो । ‘छोराको अवस्थामा कस्तो छ ? जिउँदो छकी के छ ? थाहा हुन सकेन’ उहाँहरुको भनाइ थियो ।
बुवाले आइतवार दिउँसो नेपाली विद्यार्थी पनि हमलामा परेको भन्ने खबर रेडियो र फेसबुकमार्फत थाहा पाउनुभयो । छोरा कतै भागेर बाँचेको छकी भन्ने आशा लाग्यो । तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर परिवारमा आयो ।
प्रवेशकी ४६ वर्षीया आमा र दिदी बेहोस् अवस्थामा हुनुहुन्छ । छोराको सास त आएन तर लाश ल्याउन नेपाल सरकारसँग परिवारले आग्रह गरेको छ । छोराको मृत्युको खबर पाएपछि अहिले परिवार भावविह्ल अवस्थामा छ । गाउँ शोकमा डुबेको छ ।
सल्यानका प्रवेशसहित इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । हमलामा घाइते हुनेमा सल्यान शारदा नगरपालिका –२ का विधान सेजवाल रहेका छन् । उहाँको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार आक्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका –१ का प्रमोद केसी सुरक्षित रहेका छन् ।-प्रतीक शर्मा ‘इच्छुक’/गोरखापत्र अनलाइन
