• Thursday 8th of October 2026

यी रहेछन् एसबिआइ नेपाल बैंकमा लुटपाट गर्ने लुटेरा,यसरी परे पक्राउ


  • धनकुटा खबर
  • .

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबिआई बैंक शाखामा भएको सशस्त्र लुटपाट प्रकरणमा संलग्न ४ जना लुटेरालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।

पक्राउ परेका लुटेराहरूको साथबाट केही रकम, चाउचाउ र एक झोला रेडबुल बरामद गरिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार पक्राउपछि उनीहरूलाई बैंक किन लुटेको भनेर सोध्दा ‘बाध्यता हो’ भन्ने छोटो जवाफ दिएका थिए। तर उनीहरूको अनुहारमा कुनै पछुतो नदेखिएको स्थानीयको भनाइ छ।

स्थानीयसँगको संवादका क्रममा लुटेराहरूले बैंक लुट्ने योजना केही समयअघि नै बनाइसकेको स्वीकार गरेका छन्।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ६ः३० बजे घ्याङलेख गाउँपालिकाको भवनमा रहेको नेपाल एसबिआई बैंकको पछाडिको ढोकाबाट लुटेराहरू बैंकभित्र प्रवेश गरेका थिए। हतियारसहित प्रवेश गरेका लुटेराहरूले सबैभन्दा पहिले बैंकका सुरक्षा गार्ड रुद्र कार्कीमाथि आक्रमण गरेका थिए।

लुट रोक्न खोज्दा लुटेराहरूले खुकुरी प्रहार गरी गार्ड कार्कीको हात काटिदिएका थिए। त्यसपछि लुटेराहरूले उनलाई बन्धक बनाएका थिए भने बैंकको माथिल्लो तलामा रहेका कर्मचारीलाई समेत बाँधेर नियन्त्रणमा लिएका थिए।

बैंकभित्र रहेका नगद रकम बोरामा पोको पारेर लुटेराहरू फरार भएका थिए। लुटेरा भागेपछि बैंकका कर्मचारीले तत्काल प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले कर्मचारी र घाइते सुरक्षा गार्डको उद्धार गरी तत्काल खोजी अभियान (सर्च अपरेशन) सुरु गरेको थियो। सोही क्रममा लुटपाटमा प्रयोग गरिएको गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने गाडीभित्र एक बोरा रकम पनि बरामद गरेको थियो।

थप खोजीका क्रममा नजिकैको जंगल क्षेत्रबाट प्रहरीले दुई बोरा नगद रकम फेला पारेको छ। प्रहरीका अनुसार बैंकबाट करिब ३ करोड ११ लाख रुपैयाँ लुटिएको प्रारम्भिक अनुमान छ।

हालसम्म यस लुटपाट प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ भने अन्य फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖