• Wednesday 7th of October 2026

पतिको यौन ज्यादतीले च्यातियो मलद्वारको ‘स्पिरिङर’


  • धनकुटा खबर
  • .

काठमाडौं मोडेल अस्पतालको एक वार्डमा पल्टिरहेकी शान्ता बन्जाडेको अनुहार पीडाले ढाकिएको छ। दाहिने आँखाबाट बगेको आँसु कानसम्म झरेको देखिन्छ। उनी अर्घाखाँचीकी ३४ वर्षीया महिला हुन्, जसले दुई वर्षअघि पतिको निरन्तर यौन ज्यादतीका कारण मलद्वारको भल्व (दिसा रोक्ने स्पिङ्क्टर) च्यातिएपछि असह्य शारीरिक र मानसिक यातना सहनुपर्‍यो।

भारतको पन्जावमा रहेका श्रीमान् माधव बन्जाडेसँग बस्न पुगेपछि शान्तामाथि अप्राकृतिक यौन व्यवहार सुरु भएको बताइन्छ। विरोध गर्दा कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की सहनुपरेको उनको भनाइ छ। निरन्तर दबाबका कारण मलद्वार र यौनीबीचको भाग च्यातिँदा दिसा नियन्त्रण बाहिर गयो र यौनीमार्ग हुँदै दिसा चुहिन थाल्यो।

गत मंगलबार स्थानीय अस्पताल हुँदै काठमाडौं मोडेल अस्पतालमा रिफर गरिएकी शान्ताको सोमबार मलद्वारको फिस्टुलाको शल्यक्रिया गरिएको छ। स्त्रीरोग तथा अब्सटेट्रिक–गाइनोकोलोजिस्ट डा. गणेश दंगाल र जनरल सर्जन तथा अस्पतालका निर्देशक डा. बिजेन्द्रध्वज श्रेष्ठको टोलीले शल्यक्रिया गरेको हो।

‘दबाबका कारण स्पिङ्क्टर च्यातिएर माथि सरेको थियो। शल्यक्रिया गरेर प्राकृतिक अवस्थामा फर्काइएको छ,’ डा. श्रेष्ठले बताए। शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको डा. दंगालले जानकारी दिए।

दुई वर्षदेखि दिसा चुहिरहँदा शान्ताको दैनिकी ठप्पजस्तै भएको थियो। दिसा रोकिने औषधि खाँदा केहीबेर नियन्त्रण हुन्थ्यो, नखाँदा जतिबेला पनि चुहिन्थ्यो। ‘उठ्यो कि दिसा खस्थ्यो, केही गर्न सकिनँ,’ उनले रुँदै भनिन् ।

घटना २०८० साल चैतको एक रातको हो। निदाइरहेकी शान्तामाथि अचानक हमला भयो। होस खुल्दा यौनीबाट अत्यधिक रगत बगेको थियो, ओच्छ्यान भिजेको थियो। त्यसपछि हप्तौँसम्म ओछ्यानबाट उठ्नै सकिनन्। उपचारका लागि पतिले कतै नलगेको, अरूले थाहा पाउलान् भन्ने डर देखाएको उनी बताउँछिन्। पछि एक पटक नजिकको सरकारी अस्पताल लगे पनि ‘लडेर लागेको’ भन्दै घटना ढाकछोप गरियो।

माघको पहिलो साता छोराले राति पिसाब फेर्न उठ्दा हातहतियारसहित बाबु आमासँग सुतेको दृश्य देखे। तस्बिर आफन्तलाई पठाएपछि माइतीपक्ष, अधिकारकर्मी र मिडियाको सहयोगमा शान्ता र उनका छोराछोरीको उद्वार गरियो। गत बिहीबार पन्जावबाट नेपाल ल्याइएपछि उपचार प्रक्रिया सुरु भयो।

पन्जावमै रहेका मिडियासँग माधव बन्जाडेले अप्राकृतिक यौन सम्पर्कका क्रममा पूरै हात प्रयोग गर्दा मलद्वार–यौनीबीचको भाग च्यातिएको स्वीकार गरेको बताइन्छ। मदिरा तथा लागूपदार्थको लतका कारण शान्ताको ज्यान जोखिममा रहेको ठहर गर्दै परिवारले पुनर्मिलनको सम्भावना अस्वीकार गरेका छन्। शान्ता स्वयं पनि पतिसँग फर्किन नचाहेको स्पष्ट बताउँछिन्।

शुक्रबार वार्डमा भेटिएकी शान्ता बारम्बार आत्तिने र रुने अवस्थामा थिइन्। डा. दंगालका अनुसार उनी गम्भीर मानसिक आघातमा छिन्। ‘फेरि हिंसा हुन्छ कि भन्ने डर छ,’ शान्ताले भनिन्, ‘घरवार जोगाउने सोच भएको भए यहाँसम्म आउने थिइनँ।’

शल्यक्रियापछि पूर्ण रूपमा सामान्य जीवन फर्किन्छ कि फर्किँदैन भन्ने चिन्ताले उनी थप व्याकुल छिन्। आर्थिक स्रोत नहुँदा छोराछोरीको भविष्यबारे डर झनै बढेको छ। ‘अलि–अलि काम गर्न सक्ने भए केही पेशा गरेर बच्चा पाल्ने मन छ,’ उनले भनिन्।

डा. श्रेष्ठका अनुसार शल्यक्रियापछि दिसा नियन्त्रण पूर्ण रूपमा सामान्य हुन्छ कि हुँदैन भन्ने अहिले नै निश्चित गर्न सकिँदैन। ‘हामीले मिलाएर शल्यक्रिया गरिसकेका छौँ,’ उनले भने।

डा. दंगालका अनुसार यौनजन्य अत्यधिक दबाबका कारण हुने यस्तो फिस्टुला अत्यन्तै विरलै, हजारौँमा एक, देखिने समस्या हो। शान्ताको सम्पूर्ण उपचार खर्च अस्पतालले निःशुल्क बेहोरेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖