काठमाडौं । प्रहरी जवान भूपेन्द्रसिंह ठगुन्ना पक्राउ परेसँगै एक युवतीले धर्ना तोडेकी छन् । काठमाडौंको माइतीघरमा उनी धर्नामा बसेकी थिइन् ।
आफ्नो बलात्कार भएको र पेटमा सात बहिनाको शिशु रहेको भन्दै कानुनी कारबाहीको मागसहित ती युवती एक महिनायता धर्नामा थिइन् । शुक्रबार (माघ २३) ठगुन्ना पक्राउ परेसँगै उनले धर्ना तोडेकी हुन् ।
सुर्खेतमा कार्यरत हुँदा जवान ठगुन्नाले आफ्नो बलात्कार गरेको ती युवतीको आरोप छ । कारबाहीको माग गर्दै युवती धर्नामा बसेपछि जवान ठगुन्ना गैरहाजिर हुँदै फरार थिए । शनिबार (माघ २५) युवती धर्ना छाडेर सुर्खेत गएकी छन् ।
शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगुन्नालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘गोल्डेन गेट’बाट नियन्त्रणमा लिएको जिकिर गरिएको छ । कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले भने, ‘‘ठगुन्ना फरार भएसँगै हामीले उनको खोजी तीव्र पारेका थियौँ । शुक्रबार गोल्डेन गेटतर्फ हिँड्दै गरेको सूचनाका आधारमा हाम्रो टोलीले पक्राउ गरेको हो । हामीले थप अनुसन्धानका लागि शनिबार सुर्खेत पठाएका छौँ ।’’
कार्यालयले ठगुन्नालाई विमानस्थल परिसरबाट पक्राउ गरिएको औपचारिक जानकारी गराएको छ । तर, उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी स्रोतको भनाइ छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार, ठगुन्नालाई भारतको बैंगलुरुबाट पक्राउ गरेर ल्याइएको हो । उपत्यका प्रहरीका एक अधिकारीले भने, ‘‘ठगुन्नालाई कानुनी कारबाहीको माग गर्दै युवती एक महिनादेखि माइतीघरमा अनशन बसेपछि हामीलाई पक्राउको दबाब बढेको थियो । तर, उनी भारत पुगेको सूचना आयो । हामीले बैंगलोर (बैंगलुरु) प्रहरीसितको समन्वयमा पक्राउ गरेर नेपाल ल्याएका हौँ ।’’
