• Wednesday 7th of October 2026

छोरीलाई निशाना बनाउन बाबुको हत्या


  • धनकुटा खबर
  • .

झापा । झापाको भद्रपुरमा एक अवकाशप्राप्त शिक्षकको हत्या एनेस्थेसियामा प्रयोग हुने घातक औषधि सुईमार्फत शरीरमा पठाएर गरिएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ। भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोल निवासी ६६ वर्षीय खेमराज ढकालको बिहीबार साँझ घाँटीमा ‘प्रोपोफोल’ नामक औषधि भरिएको सिरिन्ज प्रहार गरी हत्या गरिएको हो। शल्यक्रियाअघि बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने उक्त औषधिको उच्च मात्रा शरीरमा पुगेपछि ढकालको ज्यान गएको प्रहरीको निष्कर्ष छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाका २६ वर्षीय दिपेशकुमार सिंह लाई पक्राउ गरेको छ। सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ। प्रहरीका अनुसार उनले आफ्नै कलेजमा अध्ययनरत एक कनिष्ठ छात्राकी बुवालाई निसाना बनाएका थिए।

प्रहरी विवरणअनुसार बिहीबार साँझ करिब ६:२० बजे घरमै बसिरहेका ढकालमाथि सिंहले आफूले ल्याएको केमिकलसहितको सिरिन्ज प्रयोग गरी एक्कासी आक्रमण गरेका थिए। गम्भीर अवस्थामा ढकाललाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

अनुसन्धानमा यो हत्या व्यक्तिगत रिसिबीका कारण योजनाबद्ध रूपमा गरिएको देखिएको छ। सिंहले मृतककी छोरीलाई प्रेम प्रस्ताव राखेको, प्रस्ताव अस्वीकार भएपछि दुबैबीच विवाद बढेको र त्यसैको बदला लिन हत्या गरेको प्रहरीको भनाइ छ। यसअघि पनि सिंहले ती छात्राको फोटो सम्पादन गरी बदनाम गर्ने प्रयास गरेको र सो विषयमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको तथ्य खुलेको छ।

प्रहरीका अनुसार सिंह बिहीबार बिहानैदेखि ढकालको घर आसपास रेकी गर्दै ‘शिक्षक चाहिएको’ बहाना बनाएर घर पुगेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार प्रयोग गरिएको औषधिको थप प्रयोगशाला परीक्षण भइरहेको छ।

पक्राउ परेका सिंहमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाही र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖