• Wednesday 7th of October 2026

कारागारभित्र भेटियो पेस्तोल र दुई वटा गोली, १३ कैदीबन्दी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवसँग पेस्तोल भेटिएको हो।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकालेको थियो। त्यसपछि आज सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेको पौडेलले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको छ। ‘हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ, उनीहरूलाई अन्यत्र कारागारमा पठाउने तयारी भइरहेको छ,’ प्रजिअ पौडेलले भने।

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका उनका समर्थकले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन्। सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन थप सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।

एक सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ४३७ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएकै कारण यसअघि गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖