दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा जेठाजुको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
कालिञ्चोक गाउँपालिका-५ बन्देथलीका ६८ वर्षीय चन्द्र बहादुर थामीले आफ्नै ५१ वर्षीया बुहारी देउमाया थामीको हत्या गरेका हुन्। कालिञ्चोक–५ स्थित बलम्बुमा सामान्य विवाद हुँदा आक्रोशित बनेका चन्द्र बहादुरले घरेलु हतियार खुकुरी र ढुङ्गाले देउमायाको टाउकोमा प्रहार गरेका थिए।
गम्भीर चोट लागेकी देउमायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनालगत्तै अभियुक्त चन्द्र बहादुर थामी फरार भएपछि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कुमार लामा र इलाका प्रहरी कार्यालय सिंगटीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो।
प्रहरी निरीक्षक विष्णुहरि फुँयालको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा साँझ थामीलाई घटनास्थलबाट करिब ४ किलोमिटर दक्षिण कालिञ्चोक गाउँपालिका–६, लेप्टुङस्थित अँधेरीखोलाको खोल्चामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीले उनका साथबाट हत्यामा प्रयोग गरिएको खुकुरी समेत बरामद गरेको छ।
पक्राउ परेका थामीमाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको दोलखा प्रहरीले जानकारी दिएको छ।
