• Wednesday 7th of October 2026

इटहरीमा पहिलो पटक सार्वजनिक कार्यक्रममै लाग्यो ‘घण्टी मुर्दावाद’को नारा


  • धनकुटा खबर
  • .

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरीले दिएको विवादास्पद अभिव्यक्तिपछि इटहरीमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।यस क्रममा, इटहरीमा पहिलो पटक सार्वजनिक कार्यक्रममै ‘घण्टी मुर्दावाद’को नारा लागेको छ।

बिहीबार इटहरी जेसीजको आयोजनामा सम्पन्न सुनसरी क्षेत्र नं. २ र ३ का उम्मेदवारबीचको ककस कार्यक्रमको अन्त्यतिर चौधरीले दिएको अभिव्यक्तिप्रति सहभागीहरू आक्रोशित भएका थिए।

कार्यक्रममा बोल्दै चौधरीले कुनै पनि दलको स्पष्ट बहुमत नआए दलहरू मिलेर सरकार गठन गर्नुपर्ने बताएका थिए। उनले रास्वपाले यस निर्वाचनमा दुईतिहाइ बहुमतको लक्ष्य राखेको दाबी गर्दै भने,“रास्वपाले यो चुनावमा दुईतिहाइ मागिरहेको छ। यदि तपाईँले परिवर्तन आवश्यक ठान्नुभएको छ भने दुईतिहाइ पुर्‍याउन तपाईँ पनि लाग्नुहोस्। यदि तपाईँ लाग्नुहुन्न भने, एक वा एकभन्दा बढी अस्थिर सरकार चाहनुभएको छ भने तपाईँ देशविरोधी हुनुहुन्छ।” उनको उक्त भनाइपछि सहभागीहरूले नाराबाजी सुरु गरेका थिए। स्थानीयवासी तथा सहभागीहरूले चौधरीको अभिव्यक्तिलाई आपत्तिजनक र अलोकतान्त्रिक भन्दै ‘राष्ट्रघाती’को आरोप लगाए।

नाराबाजीका क्रममा ‘घण्टी मुर्दावाद’का नारा समेत लागेपछि कार्यक्रम केही समयका लागि अवरुद्ध भएको थियो। चौधरीको अभिव्यक्तिप्रति अन्य उम्मेदवारहरूले पनि आलोचना गरेका छन्।

उनीहरूले लोकतान्त्रिक प्रतिस्पर्धामा मतदातालाई ‘देशविरोधी’ ठहर गर्ने भाषा अनुचित भएको टिप्पणी गरेका छन्। चौधरीले ‘देशविरोधी’ हुने अभिव्यक्ति दिएपछि आयोजक इटहरी जेसीजका पदाधिकारी, मञ्चमै बसेका उम्मेदवार र अन्य दलका कार्यकर्ताहरूले पनि विरोध जनाउँदै चौधरीको स्थानमा पुगेर ‘घण्टी मुर्दावाद’को नारा लगाएका थिए।

इटहरी जेसीजले सुनसरी क्षेत्र नं. २ र ३ का उम्मेदवारबीच ककस कार्यक्रम आयोजना गरी उनीहरूलाई जनउत्तरदायी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद गराउने उद्देश्य राखेको थियो।

तर, कार्यक्रमको उद्देश्यभन्दा बाहिर गएर आएको विवादास्पद अभिव्यक्तिले कार्यक्रमको समापन विवादमा धकेलिएको थियो।ककस कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी–२ का उम्मेदवार राजीव कोइराला, नेकपा (एमाले)का सुजन लामा, नेकपा (माओवादी केन्द्र)की सुनसरी–२ की उम्मेदवार रामकुमारी चौधरी, उज्यालो नेपालका गोपाल तामाङ लगायत विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरू सहभागी थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖