नुवाकोट । निर्वाचनको मिति नजिकिँदै गर्दा नुवाकोटमा निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएको छ। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २, पुरानडाडामा नेपाली कांग्रेसका नेता प्रकाश शरण महतको उपस्थितिमा निर्वाचन आचारसंहिता विपरीत सामूहिक भोज आयोजना गरिएको हो।
प्राप्त समाचार अनुसार, तरुण दलको नाममा आयोजित उक्त कार्यक्रममा ७ वटा खसी काटेर ठुलो संख्यामा स्थानीयलाई भोज खुवाइएको छ। निर्वाचनको मुखमा मतदातालाई प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यले यसरी भोजभतेर आयोजना गरिनु ‘निर्वाचन आचारसंहिता’ को उल्लंघन हो।
के भन्छ आचारसंहिता?
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार निर्वाचनको अवधिमा मतदातालाई प्रलोभनमा पार्ने गरी कुनै पनि किसिमको भोजभतेर, उपहार वितरण वा आर्थिक लेनदेन गर्न पाइँदैन। तर, पञ्चकन्यामा भएको यो घटनाले ‘नीति र विचार’ भन्दा पनि ‘मासु र भोज’ को भरमा चुनाव जित्ने पुरानै शैलीलाई निरन्तरता दिएको देखिन्छ।
“जनता सचेत भइसकेका छन्। विचारको राजनीति गर्नुको साटो मासु खुवाएर भोट किन्ने प्रयास गर्नु लोकतन्त्रकै उपहास हो,” एक स्थानीयले गुनासो गरे।
नेता प्रकाश शरण महत जस्तो जिम्मेवार व्यक्तिको उपस्थितिमा भएको यस्तो गतिविधिले निर्वाचन निष्पक्ष हुनेमा आशंका उब्जाएको छ। घटनाका बारेमा स्थानीय प्रशासन र निर्वाचन आयोगको ध्यान जानु जरुरी देखिएको छ। सामाजिक सञ्जालमा समेत यसबारे आलोचना भइरहेको छ र दोषीमाथि कारबाहीको माग गरिएको छ।
यस विषयमा निर्वाचन अधिकृतको कार्यालयले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। सामूहिक भोजका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्, जसले यस घटनालाई थप पुष्ट्याइँ गर्दछ।
