• Tuesday 6th of October 2026

बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता


  • धनकुटा खबर
  • .

रुपन्देही । रुकुम पश्चिममा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन युवतीमध्ये दुई जना मृत भेटिएका छन् भने एक अझै बेपत्ता रहेकी छन् ।

बाँफिकोट गाउँपालिका वडा नं ३ भाग्ने नजिकै सानोभेरी नदीमा उनीहरूको शव भेटिएको वडाध्यक्ष तिलवीर केसीले नेपाल प्रेसलाई बताए ।

सोमबार स्थानीय नीराजन वलीका दुई छोरी १५ वर्षकी उर्मिला वली र १२ वर्षकी कल्पना वली तथा पूर्णबहादुर वलीको १३ वर्षीय छोरी सपना वली विद्यालयबाट फर्केर आफन्तको बिहेमा गएको मङ्गलवार बिहान स्थानीयले घाँस काट्ने क्रममा भेरी नदीमा शव देखेपछि मात्रै आफूहरूले सूचना पाएको केसीले बताए ।

‘बिहेमा गएर फर्केका रहेछन्, आज बिहान स्थानीयले भनेपछि म आफै पुगेको हुँ, तीन जनामध्ये उर्मिला र कल्पनाको शव दुई ती सय मिटरको दुरीमा भेटिएको छ सपनाको केही पत्तो लागेको छैन’ उनले भने–‘मैले आफै बोकेर नदीबाट निकालेको हो, कारण केही पत्ता लागेको छैन, घरबाट बिहेमा गएको र घर नआएको भएपछि खोजबिन भएको रहेछ, तर आज शव भेटेपछि मात्रै खबर भयो ।’

उनका अनुसार उर्मिला र कल्पनाका बुवा नीराजन वली साइला हुन् भने सपनाका बुवा पूर्णबहादुर माइला हुन् । नीराजन कान्छी श्रीमती बिहे गरेर मजदुरीका लागि भारत गएका छन् ।

उर्मिला र कल्पनाको शव नदीमा भेटिएको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जनाए । उनका अनुसार शुरूमा उर्मिलाको शव भेटिएको र एक/डेढ मिटर तल कल्पनाको शव भेटिएको हो ।

‘बिहेबाट फर्कनेक्रममा पुल नतरेर खोलाबाट हिँडेको र अलिक अफ्ठेरो ठाउँबाट तीनै जनाले हात बाँधेर तर्दा एकलाई बगाएपछि अर्कोलाई तानेको आशंका गरिएको छ, उनीहरू भेरीमा डुबेको बाहेक अरू होलाजस्तो लाग्दैन, आज बिहानबाट खोजबिन गरियो, तर दुई जनाको मात्रै शव भेटियो, डोनबाट पनि खोजियो तर एक जनाको पत्ता लागेन, भोलि पोष्टमार्टम गरेर अघि बढ्ने हो’ उनले नेपाल प्रेससँग भने ।

उनीहरू सोमबार बेलुका घरदेखि पारीपट्टिको गाउँमा रहेको आफन्तको बिहे हेर्न गएका थिए । बिहे हेरेर घर फर्किने क्रममा उनीहरू पुल नतरेर गाडी वारपार गर्न बनाइएको नदीको बाटो फर्किएकाले उनीहरूलाई बगाएको आशंका प्रहरीको छ । बिहे हेर्न गएका उनीहरू मङ्गलवार बिहानसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेर नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रनाउ पौडेलले बेपत्ता अर्को युवतीको खोजी बुधवार पुनः गरिने जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖