• Tuesday 6th of October 2026

देउवा र खड्काको घरनजिकैबाट बरामद भएको ‘सुन’ जस्तै देखिने तीन किलो धातु पित्तल भएको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं : जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठ क्षेत्रमा फेला परेको तीन किलो पहेँलो धातु सुन नभई पित्तलजस्तै धातु भएको पुष्टि भएको छ।

राजस्व अनुसन्धान विभागले परीक्षणपछि उक्त धातु सुन नभएको निष्कर्ष निकालेको हो।भदौ २४ गते तत्कालीन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड, लुटपाट र आगजनी भएको थियो।

सोही दिन नजिकै एक व्यक्तिले बोरा बोकेर लैजाँदै गरेको अवस्थामा नेपाली सेनाले तीन किलो पहेँलो धातु र ठूलो परिमाणमा नगद बरामद गरेको थियो। सेनालाई देखेपछि ती व्यक्ति बोरा छाडेर फरार भएका थिए।

बरामद सामग्री नेपाली सेनाले राजस्व अनुसन्धान विभागमा बुझाएको थियो। विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार ललितपुर सुनचाँदी व्यवसायी संघ र नेपाली सेनाको उपस्थितिमा गरिएको परीक्षणमा उक्त धातु सुन नभएको पुष्टि भएको हो। “हेर्दा पनि पित्तलजस्तै देखिन्छ,” उनले भने।

सेनाले बरामद गरेको रकममध्ये ३४ लाख ७९ हजार ६ सय ७० रुपैयाँ सुरक्षित अवस्थामा भेटिएको थियो भने जलेको अवस्थामा एक लाख २४ हजार ५ सय रुपैयाँ फेला परेको थियो। त्यस्तै ३ सय अमेरिकी डलर सुरक्षित र २ हजार २ सय अमेरिकी डलर जलेको अवस्थामा भेटिएको थियो।

जलेको रकमबारे नेपाल राष्ट्र बैंकसँग छलफल गरेर निर्णय गर्ने तयारी विभागले गरेको छ। तर, उक्त रकम र पहेँलो धातु कसको हो भन्ने अझै खुलेको छैन। ती सामग्री बोकेर लैजाने व्यक्ति पनि पहिचान हुन सकेको छैन।

पहेँलो धातुमा “कमर्स बैंक स्विट्जरल्यान्ड” लेखिएको भेटिएको विभागले जनाएको छ। सुन नभएको पुष्टि भएपछि विभागले उक्त धातु सेनालाई फिर्ता लैजान भनेको भए पनि हालसम्म फिर्ता लगिएको छैन।

त्यस्तै सेनाले फेला पारेको ५० दरका नोटको बाक्सा पनि राजस्व अनुसन्धान विभागमै राखिएको छ। ती रकम नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
हाल बरामद रकम र धातुको विषयमा प्रतिवेदन तयार गरी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउने तयारी भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖