एजेन्सी । खाना पकाउने एलपिजी ग्यास लिन लाइनमा उभिँदा उभिँदै एक वृद्धको ढलेर मृत्यु भएको छ। घटना भारतको उत्तर प्रदेशस्थित फर्रूखावाद जिल्लामा भएको हो।
बिबिसी हिन्दीका अनुसार फर्रूखावादको मनिहारी मोहल्लामा बस्ने ७५ वर्षीय मुख्तार अन्सारी शुक्रबार बिहान एलपिजी सिलिण्डर लिन लाल सरायस्थित ग्यास डिपो पुगेका थिए। बिहानैदेखि ग्यास डिपोमा मानिसहरूको लामो लाइन लागेको थियो।
घन्टौंसम्म लाइनमा उभिनुपर्दा अन्सारी अचानक ढलेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाएको छ। उनी ढलेपछि त्यहाँ उपस्थित मानिसहरूले तुरुन्तै सिपिआर दिएका थिए।
अन्सारी होसमा नआएपछि स्थानीय मानिसहरूले उनलाई नजिकैको नर्सिङ होममा पुर्याएका थिए। तर अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
परिवारका सदस्यका अनुसार अन्सारी केही समयदेखि बिरामी थिए र हालै उनको उपचारसमेत भइरहेको थियो। मृतकका भतिजा मोहम्मद वसीले घन्टौंसम्म लाइनमा उभिनुपर्दा स्वास्थ्य अवस्था बिग्रिएर उनी ढलेको बताएका छन्।
यस घटनापछि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले सरकारको आलोचना गरेका छन्। उनले ग्यासको लाइनमा बसेका एक वृद्धको मृत्यु हुनु दुःखद र दुर्भाग्यपूर्ण घटना भएको बताउँदै सरकारको कमजोरीका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको टिप्पणी गरेका छन्।
अमेरिका–इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण इन्धन आपूर्ति प्रभावित भएको बताइन्छ। यसका कारण भारतसहित विभिन्न देशहरूमा पेट्रोलियम पदार्थ र ग्यासका लागि उपभोक्ताको लामो लाइन लाग्न थालेको छ।
