काठमाडौ । काठमाडौंकी ३९ वर्षीया भूमिका श्रेष्ठ नेपालको प्रतिनिधिसभामा पुग्ने पहिलो ट्रान्सजेन्डर महिला बनेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई आदिवासी जनजाति समूहअन्तर्गत समानुपातिक सांसदका रूपमा चयन गरेको हो। यद्यपि, उनी जनजाति पहिचानभन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अभियन्ताका रूपमा परिचित छिन्।
२०४४ सालमा काठमाडौंको नैकापमा जन्मिएकी भूमिका बाल्यकालमा कैलाश श्रेष्ठका रूपमा चिनिन्थिन्। ११ वर्षको उमेरदेखि नै आफूमा फरक लैंगिक पहिचानको अनुभूति भएपछि उनले आफ्नो पहिचान परिवर्तन गर्ने साहस गरिन्। समाजले उनको पहिचानमाथि विभिन्न प्रश्न उठाए पनि परिवारले भने निरन्तर साथ दिएको उनी बताउँछिन्।
कानुनी रूपमा पनि उनको पहिचान परिवर्तन सहज थिएन। २०६२ सालमा नागरिकता लिँदा उनको नाम कैलाश श्रेष्ठ र लिंग ‘अन्य’ उल्लेख थियो। पछि उनले नाम र लिंग परिवर्तनका लागि प्रक्रिया अघि बढाउँदा २०७७ चैत २३ गते मन्त्रिपरिषद्को विशेष निर्णयबाट उनको पहिचान परिवर्तन स्वीकृत भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनको नागरिकतामा नाम ‘भूमिका श्रेष्ठ’ र लिंग ‘महिला’ उल्लेख गर्दै नयाँ नागरिकता जारी गरेको थियो।
भूमिका श्रेष्ठ लामो समयदेखि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सक्रिय रहँदै आएकी छिन्। उनले ‘नीलहिरा समाज’लगायत संस्थामार्फत समुदायको अधिकारका लागि आवाज उठाउँदै आएकी छन्। उनको यही योगदानका लागि उनलाई सन् २०२२ मा अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित गरेको थियो।
उनका अनुसार देशमा ८ देखि १० प्रतिशतसम्म लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय भए पनि धेरैजना अझै खुल्न सक्ने वातावरणमा छैनन्। उनले आफ्नो पहिचान स्वीकार गर्न साहस आवश्यक पर्ने बताउँदै समाजले पनि परिवर्तनलाई स्वीकार गर्न समय लाग्ने उल्लेख गरिन्।
राजनीतिमा प्रवेशबारे बोल्दै उनले सांसद बन्ने सपना नदेखेको भए पनि आफ्नो समुदायको मुद्दा मूलधारमा ल्याउनुपर्ने सोचका कारण राजनीतिमा आएको बताइन्। उनले विगत २५ वर्षदेखि उठाउँदै आएका मुद्दाहरू अझै कार्यान्वयनमा नआएको गुनासो गर्दै अब संसदमार्फत ती मुद्दालाई सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाइन्।
यसअघि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट सुनिलबाबु पन्त संविधानसभामा पुगेका थिए भने भूमिका श्रेष्ठ प्रतिनिधिसभामा पुग्ने पहिलो ट्रान्सजेन्डर महिला बनेकी छिन्। उनको संसद प्रवेशले नेपालको राजनीतिमा समावेशी प्रतिनिधित्वतर्फ नयाँ अध्याय सुरु भएको रूपमा हेरिएको छ।
