काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार मध्यान्हको समयमा दुर्घटनाग्रस्त भयो ।
काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् । काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका-२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिए ।
वडाध्यक्ष राईका अनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए । उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो ।
वाडध्यक्ष राईले भने, ‘हेलिकप्टरमा ५ जना चढेपछि शव राख्ने ठाउँ भएन छ । शवबहानमा शव हालेर उहाँहरू चाहिँ काठमाडौंबाट हेलिकप्टरमा खोटाङ आउनु भएको रहेछ । अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।’
शव भने भोलि मात्रै खोटाङ आइपुग्ने जानकारी परिवारका सदस्यबाट आफूले पाएको वडाध्यक्ष राईले बताए ।
