उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा एउटा पत्याउनै नसकिने चमत्कार भएको छ। अस्पतालले ‘ब्रेन डेड’ घोषणा गरी अन्तिम संस्कारको तयारी गरिएकी एक महिला सडकको खाल्डोमा एम्बुलेन्स ठोक्किँदा लागेको झट्काका कारण जीवित भएकी छन्।
पिलिभितकी न्यायिक कर्मचारी विनीता शुक्ला गत फेब्रुअरी २२ मा घरको काम गर्दागर्दै बेहोस भएकी थिइन्। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बरेलीको सुविधासम्पन्न अस्पतालमा रिफर गरियो।
त्यहाँका डाक्टरहरूले विभिन्न परीक्षणपछि विनीताको मस्तिष्कले काम गर्न छोडेको (ब्रेन डेड) घोषणा गरे। होस खुल्ने कुनै सम्भावना नरहेको भन्दै डाक्टरहरूले हरेस खाएपछि परिवारले उनलाई डिस्चार्ज गरी अन्त्येष्टिको तयारी सुरु गरे।
फेब्रुअरी २४ मा एम्बुलेन्समा विनीतालाई घर लैजाँदै गर्दा हाफिजगन्ज नजिकै सडकको एउटा ठूलो खाल्डोमा गाडी बेजोडले ठोक्कियो। सोही शक्तिशाली झट्का लगत्तै विनीताका पतिले उनको सास फेर्ने गति सामान्य भएको महसुस गरे। त्यसपछि उनको अवस्थामा तीव्र सुधार आयो।
अस्पताल फर्काइएपछि डाक्टरहरू समेत चकित परेका छन्। केही दिनअघिसम्म मृत्युको मुखमा पुगेकी विनीता अहिले घर फर्किएर परिवारसँग कुराकानी गर्न सक्ने अवस्थामा छिन्। सामाजिक सञ्जालमा यो घटनालाई ‘लाखौँमा एक’ हुने संयोग भनिएको छ।
विनीताका लागि सडकको खाल्डो वरदान सावित भए पनि भारतका सडकमा रहेका खाल्डाहरू ज्यानमारा मानिन्छन्। तथ्याङ्क अनुसार सन् २०२० देखि २०२४ को बिचमा सडकका खाल्डोका कारण ९ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन्।
