• Friday 16th of October 2026

थाइल्याण्डमा किशोरले अन्धधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

 

काठमाडौं, २२ साउन । थाइल्याण्डमा एक किशोरले आफ्ना हजुरबुबा हजुरआमा र केही विद्यालय शिक्षकहरूलाई गोली हान्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ।

प्रधानमन्त्री अनुतिन चर्नविराकुलका अनुसार ३० जनाभन्दा बढी घाइते भएका छन् र तीमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ।

अधिकारीहरूका अनुसार गोली चलाउने आशंका गरिएका १४ वर्षीय किशोरको पनि मृत्यु भइसकेको छ । प्रधानमन्त्री चर्नविराकुलले पत्रकारहरूलाई बताए अनुसार उक्त आक्रमण स्पष्ट योजना र उद्देश्यका साथ राम्रो तयारी गरेर गरिएको थियो।

थाइल्याण्डको राजधानी बैंककको बाहिरी इलाका नन्थाबुरीस्थित विद्यालयबाट भागेकी एक छात्राले आफूले एक शिक्षकलाई गोली लागेको देखेको बीबीसीलाई बताइन्।

विद्यालयको पोसाकमै रहेकी अर्की छात्राले आफू र आफ्ना केही साथीहरू कसरी भाग्नका लागि विद्यालयको पर्खाल नाघेर जानुपरेको थियो भन्नेबारे बताएकी छिन ।

अधिकारीहरूले सर्वसाधारणलाई डेबसिरिन विद्यालयको वरपरको क्षेत्रबाट टाढै रहन आग्रह गरेका छन् । घटनास्थलमा आपतकालीन उद्धारकर्मीहरू देखिएका तस्बिरहरू सार्वजनिक भएका छन्।

बन्दुक राख्ने विषयमा प्रतिबन्धहरू भए तापनि यहाँ मानिसहरूले तुलनात्मक रूपमा सजिलै बन्दुक प्राप्त गर्न सक्छन् । थाइल्याण्डमा यस वर्ष विद्यालयमा गोली चलेको यो दोस्रो घटना हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖