• Monday 5th of October 2026

रसुवाको टिमुरेमा बाढी: चार सशस्त्र प्रहरी सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण रसुवाको टिमुरेमा कार्यरत चार जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। बाढीले टिमुरेस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) मा समेत क्षति पुर्‍याएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार टिमुरेमा कार्यरत चार सुरक्षाकर्मीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ।

उद्धारका लागि सशस्त्र प्रहरीले एक प्लाटुन टोली स्थलमार्ग हुँदै नुवाकोटतर्फ पठाएको छ। त्यस्तै, रसुवामा हेलिकप्टरमार्फत उद्धार टोली परिचालन गर्न गोताखोरसहित अर्को एक प्लाटुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरीका अनुसार बाढी नुवाकोट हुँदै धादिङको आदमघाटसम्म पुगेको छ। बाढीका कारण रसुवाको टिमुरे बजारमा ठूलो क्षति भएको छ। बागमती प्रदेशका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारमा पाँच–सातवटा घर मात्र बाँकी रहेका छन्।

यसैबीच, सशस्त्र प्रहरीले सिनामंगलस्थित विपद् व्यवस्थापन गण र कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा उद्धार टोलीलाई तयारी अवस्थामा राखेको छ। हलचोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालयमा पनि थप उद्धार टोली तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए।

उनका अनुसार बाढी तथा विपद्मा घाइते भएकाहरूको उपचारका लागि एपीएफ अस्पतालमा १ सय शय्या तयारी अवस्थामा राखिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖