पोर्चुगल । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करियरलाई लिएर चर्चा भइरहेका बेला पोर्चुगलले ७ नम्बर जर्सी राफायल लियाओलाई दिएको छ ।
डेनमार्कविरुद्ध भएको नेसन्स लिगको खेलका लागि यूईएफएले बिहीबार सार्वजनिक गरेको पोर्चुगलको २३ सदस्यीय टोलीमा रोनाल्डोको नाम थिएन। उनको अनुपस्थितिमा लियाओले रोनाल्डोसँग लामो समयदेखि जोडिएको ७ नम्बर जर्सी लगाएर मैदानमा उत्रिए । सुरुवाती ११ मा नै खेलेका लियाओ ६३ मिनेट मैदानमा थिए l
पोर्चुगलका लागि ७ नम्बर जर्सी रोनाल्डोको पहिचानजस्तै बनेको थियो । ‘सीआर–७’ नामले समेत विश्वभर चिनिएका रोनाल्डोले आफ्नो अधिकांश अन्तर्राष्ट्रिय करियर यही नम्बरको जर्सीमा बिताएका थिए । तर, डेनमार्कविरुद्धको खेलमा भने यही जर्सी लियाओको शरीरमा रह्यो ।
लियाओले यसअघि पोर्चुगलका लागि १७ नम्बर जर्सी लगाउँदै आएका थिए । अब उनको १७ नम्बर जर्सी फाबियो सिल्भालाई दिइएको छ । चोटका कारण अघिल्लो खेल गुमाएका ब्रुनो फर्नान्डेस पनि टोलीमा फर्किएका थिए । रोनाल्डो बिनाको पोर्चुगलले डेनमार्कविरुद्धको खेलमा २ का विरुध्द ४ गोलको जित दर्ता गरायो l
पोर्चुगलको टोलीबाट रोनाल्डो बाहिरिनु र लगत्तै उनको ७ नम्बर जर्सी अर्को खेलाडीलाई दिनुले उनको राष्ट्रिय टोलीसँगको भविष्यबारे थप प्रश्न उठाएको छ । त्यसमाथि पोर्चुगलले रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको औपचारिक घोषणा भने गरेको छैन ।
रोनाल्डोले सेप्टेम्बर ३० मा पोर्चुगलको प्रशिक्षण क्याम्प छाडेका थिए । प्रशिक्षक जर्ज जेसुससँगको पत्रकार सम्मेलनपछि रोनाल्डोले पोर्चुगिज फुटबल महासंघका अध्यक्ष पेद्रो प्रोएन्सासँग पनि कुराकानी गरेका थिए । त्यसपछि उनले टोली छाड्ने निर्णय गरेका थिए ।
रोनाल्डोले आफ्नो निर्णयको कारण पछि सार्वजनिक गर्ने बताएका छन् । यसअघि नर्वेविरुद्ध पोर्चुगलले २–१ को जित हात पारेको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएको थियो । त्यसपछि उनी चोटग्रस्त नभए पनि टोलीबाट अलग्गै प्रशिक्षण गरिरहेका थिए । प्रशिक्षक जेसुसले रोनाल्डो बेन्चमा राखिएको निर्णयबाट निराश भएको स्वीकार गरे पनि उनीहरूबिच गम्भीर विवाद भएको कुरा अस्वीकार गरेका थिए ।
रोनाल्डोको अचानक क्याम्प छाड्ने निर्णयपछि उनको अन्तर्राष्ट्रिय करियर अन्त्यको चरणमा पुगेको हुनसक्ने अड्कलबाजी बढेको छ । ४१ वर्षीय रोनाल्डोले यसअघि नै सन् २०२६/२७ को सिजन आफ्नो खेलाडी करियरको अन्तिम चरण हुनसक्ने संकेत गरिसकेका छन् ।
यद्यपि, अहिलेको अवस्थामा उनको अन्तर्राष्ट्रिय संन्यास पुष्टि भएको छैन । डेनमार्कविरुद्धको खेलका लागि २३ सदस्यीय टोलीमा रोनाल्डो नपर्नुको मुख्य कारण उनी क्याम्पबाट बाहिरिनु हो ।
यूईएफएका नियमअनुसार नेसन्स लिगको प्रत्येक खेलका लागि टोलीले २३ खेलाडीको सूची बुझाउनुपर्छ र प्रत्येक खेलाडीलाई १ देखि २३ सम्मको जर्सी नम्बर तोक्नुपर्छ । त्यसैले रोनाल्डो टोलीमा नरहेपछि ७ नम्बर जर्सी अर्को खेलाडीलाई दिनुपरेको पनि तर्क रहेको छ । तर, रोनाल्डोको राष्ट्रिय टोलीसँगको भविष्य स्पष्ट नभएको अवस्थामा पोर्चुगलको ७ नम्बर जर्सी अर्को खेलाडीले लगाउनु भने केवल नियमित टोली व्यवस्थापनको निर्णयभन्दा बढी प्रतीकात्मक देखिएको छ । कतै उनको सन्यासको आधिकारिक घोषणा आउनै लागेको त होइन भन्ने चर्चा पनि चलेको छ ।
