• Friday 16th of October 2026

जापानमा ९.९ म्याग्निच्युडको भूकम्पको गलत अलर्ट, आठ मिनेटमै फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड मापन गरेको थियो । एजेन्सीका अनुसार भूकम्प जमिनको सतहबाट करिब १६० किलोमिटर गहिराइमा गएको थियो ।

भूकम्पपछि शुक्रबार दिउँसो १२:४० बजे जापानको मौसम विज्ञान एजेन्सीले होक्काइडोदेखि मध्य जापानको तोकाई क्षेत्रसम्म शक्तिशाली कम्पन आउन सक्ने चेतावनी जारी गरेको थियो । त्यसपछि सार्वजनिक सूचना प्रणाली र मोबाइल फोनमा अलार्म बजेको थियो । आठ मिनेटपछि, दिउँसो १२:४८ बजे एजेन्सीले चेतावनी रद्द गर्‍यो ।

एजेन्सीका प्रवक्ताका अनुसार प्रणालीले भूकम्पको केन्द्रविन्दु कुरिल टापु आसपास रहेको गलत अनुमान गर्नुका साथै त्यसको म्याग्निच्युड पनि वास्तविकभन्दा धेरै आकलन गरेको थियो ।

यसैका आधारमा ठूलो भूकम्पको पूर्वचेतावनी जारी भएको उनले बताएका छन् । एजेन्सीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

जापानमा वास्तविक रूपमा शक्तिशाली कम्पन महसुस भएन । जापानको भूकम्पीय तीव्रता मापन प्रणालीअनुसार होक्काइडोको हाकोदातेमा पहिलो तहको कम्पन मात्रै अभिलेख भएको थियो । घटनापछि सुनामीसम्बन्धी चेतावनी वा सूचना जारी गरिएको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖