• Friday 23rd of October 2026

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न भारत गए रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतको कैंचीधामलगायतका तीर्थस्थलको भ्रमणमा निस्किएका छन् । उनी शुक्रबार धनगढी हुँदै भारतका विभिन्न धार्मिकस्थलतर्फ प्रस्थान गरेका हुन् ।

उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै आफू कारागारमा रहँदा गरेको भाकल पूरा गर्न निजी तथा पारिवारिक रूपमा तीर्थाटनमा निस्किएको बताए ।

‘धार्मिक आस्था र विश्वास पनि हो । पारिवारिक संस्कार र मेरो परिवार पनि अलिकति आध्यात्मिक भएकाले हो’, उनले भ्रमणबारे स्पष्ट पार्दै भने, ‘म कारागारमा हुँदा नै भाकल थियो । त्यो पूरा गर्न पहिलादेखि नै जाउँला भन्ने थियो तर अहिले समय भएकाले जान लागेको हो ।’

आफ्नो भारत भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने स्पष्ट पार्दै सभापति लामिछानेले भ्रमणलाई लिएर राजनीतिक रूपमा खिचडी नपकाउन आग्रह गरे ।

‘मेरो भ्रमण असाध्यै व्यक्तिगत हो । कहिलेकाहीँ व्यक्तिगत र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ’, सभापति लामिछानेले भने, ‘अलग्याउनेमा साथीहरूलाई सहयोग गर्न आग्रह गर्छु ।’

भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको लामिछानेको सचिवालयले जनाएको छ ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖