काठमाडौँ। न्युजिल्यान्डविरुद्धको टी–२० खेलमा भारतले हारको मुखबाट रोमाञ्चक पुनरागमन गर्दै ४ विकेटको जित निकालेको छ। तिलक वर्मा र नितेश कुमार रेड्डीको आक्रामक ब्याटिङमा भारतले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ ।
शनिबार न्युजिल्यान्डले दिएको १८१ रनको लक्ष्य पछ्याएको भारतले १४।५ ओभरमा ११२ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । जितका लागि अन्तिम ३१ बलमा ६९ रन आवश्यक हुँदा भारत दबाबमा थियो । तर, तिलक र नितेशले उत्कृष्ट साझेदारी गर्दै खेलको नतिजा नै उल्ट्याइदिए ।
तिलकले २६ बलमा अविजित ५१ रन बनाए । उनको इनिङमा ६ चौका र एक छक्का समावेश थियो । नितेशले १३ बलमा आक्रामक २६ रन जोडे । दुवैले सातौँ विकेटका लागि ३० बलमा ६९ रनको अविजित साझेदारी गर्दै भारतलाई जितको नजिक पुर्याए ।
अन्तिम ओभरमा भारतलाई जितका लागि ११ रन आवश्यक थियो । न्युजिल्यान्डका ज्याकब डफीको ओभरमा तिलकले चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । त्यसपछि पाँचौँ बलमा नितेशले दुई रन लिएपछि भारतले रोमाञ्चक जित सुनिश्चित गर्यो । उत्कृष्ट प्रदर्शन गरेका तिलक ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो । उसका ग्लेन फिलिप्सले ७० र बेभन ज्याकब्सले ५८ रन बनाए । भारतका अर्शदीप सिंह र भुवनेश्वर कुमारले दुई–दुई विकेट लिए भने प्रिन्स यादव र नितेश रेड्डीले एक–एक विकेट हात पारे ।
यस जितसँगै भारतले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ ।
