धनकुटा । सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चालकसहित १२ जनाको उद्धार गरिएको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा २०८३ साल कात्तिक ८ गते दिउँसो करिब २ बजे पानीबोट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–चतरा जाँदै गरेको ओबीएम (OBM) कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक विवरणमा उल्लेख छ। पानीबोटमा चालकसहित १५ जना सवार थिए।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी, सुनसरीबाट खटिएको प्रहरी टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाएको थियो। उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, नामथर र ठेगाना नखुलेकी अन्दाजी ६–७ वर्षीया बालिका तथा पहिचान नखुलेका अन्दाजी ४०–५० वर्षीय पुरुष रहेका छन्।
दुर्घटनामा परी झापाको कन्काई नगरपालिका–४ का सात वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन्। बेपत्ता शिवक मगर उद्धार गरिएकी निता मगरका छोरा हुन्।
प्रहरीका अनुसार उद्धार गरिएका तथा सकुशल रहेका व्यक्तिमा पानीबोट चालक बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगर, भोजपुरको हतुवागढी गाउँपालिका–४ का विष्णु सुनार, तीर्था रसाइली सुनार, पूजा तिरुवा, प्रज्वल तिरुवा, देवेन्द्र राई, रञ्जित राई र मोहन सुनार तथा झापाको कन्काई नगरपालिका–४ की निता मगर रहेका छन्।
बेपत्ता तीन जनाको खोजीका लागि नदी क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
