• Monday 26th of October 2026

बङ्गालको खाडीमा बन्यो शक्तिशाली चक्रवात ‘अर्नब’


  • धनकुटा खबर
  • .

काठमाण्डाै – बङ्गालको खाडीमा विकसित गहिरो न्यून चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ ।

भारतीय मौसम विभागका अनुसार नेपाली समयअनुसार आज बिहान साढे ५ बजे यो प्रणाली चक्रवातका रूपमा विकसित भएको हो । यस चक्रवातको नाम ‘अर्नब’ राखिएको छ ।

विभागका अनुसार चक्रवात पर्सि बुधवार बिहान भारतको बापटला र विशाखापट्टनमबीच आन्ध्र प्रदेश–यानम तट पार गर्ने अनुमान छ । त्यस बेला हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर र झोक्कासहित १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्नेछ ।

चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा मुसलधारेदेखि ठूलाे वर्षा हुने पूर्वानुमान गरिएको छ भने विभागले आन्ध्र प्रदेशका ६ वटा जिल्लामा अत्यधिक वर्षाको चेतावनी जारी गरेको छ ।

जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार यो चक्रवातको प्रभाव त्यस क्षेत्रमा रहेका अन्य साना वर्षा प्रणालीसँग मिसिँदै नेपालतर्फ अघि बढ्ने देखिएको छ ।

बुधवार रातिदेखि नेपालमा प्रणालीको प्रभाव शुरू भई सामान्यदेखि मध्यम वर्षा हुनेछ । बिहीवारदेखि देशैभर वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बिहीवार दिउँसोदेखि शुक्रवार रातिसम्म विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउनुपर्नेछ । यी क्षेत्रका केही ठाउँमा मुसलधारे वर्षा र हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुन सक्नेछ । शनिवारदेखि यस प्रणालीको असर क्रमिक रूपमा कमजोर हुँदै जानेछ ।

मौसम तथा कृषि विज्ञहरूले सम्भावित क्षतिबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेका छन् । पाकेको धानबाली भोलि मङ्गलवार बेलुकासम्म थन्काइसक्न र बुधवारदेखि शनिवारसम्म धान नकाट्न कृषकहरूलाई सुझाव दिइएको छ ।

बुधवारदेखि शनिवारसम्म हिमाली क्षेत्रको पदयात्रामा नजान र बिहीवारदेखि शनिवारसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा गर्नैपरे उच्च सावधानी अपनाउन मौसमविद्हरूको आग्रह छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖