• Monday 26th of October 2026

मावली घरमा खेलिरहेका चार वर्षीय बालकको सर्पदंशबाट मृत्यु


  • धनकुटा खबर
  • .

रौतहट, ९ कार्तिक। बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५, इटियाहीमा विषालु कोब्रा सर्पले डस्दा चार वर्षीय बालकको ज्यान गएको छ। मावली घरमा बस्दै आएका बालकको उपचारका लागि अस्पताल पुर्‍याइए पनि ज्यान जोगाउन नसकिएको हो।

भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको पकडिया निवासी गजेन्द्र प्रसाद पालका छोरा आदित्य प्रसाद पालको आइतबार साँझ सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ। उनी करिब एक महिनादेखि आमासँगै इटियाहीस्थित मावली घरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेका बेला बालकलाई कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो। सर्पले डसेपछि अवस्था गम्भीर बनेका उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। तर, अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ करिब ६ बजे उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी मुसहर्वाबाट प्रहरी सहायक निरीक्षक मनोज साह सोनारको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो। बालकका मामा जितेन्द्र कुमार पालले साँझ ७ः४० बजे अस्पतालबाट शव घर ल्याएको प्रहरीले जनाएको छ।

घटनाले परिवारमा शोक छाएको छ। बालकको मृत्युबारे प्रहरीले थप विवरण संकलन गर्नुका साथै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖