न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित क्याथोलिक चर्चको आर्कडायोसेसले पादरीहरूबाट यौन दुर्व्यवहारमा परेका करिब १ हजार ३०० पीडितलाई ८० करोड डलरभन्दा बढी क्षतिपूर्ति दिन सहमति जनाएको छ ।
आर्कबिसप रोनाल्ड हिक्सले शनिबार पीडित र उनीहरूका वकिलसँग सहमति भएको जानकारी दिएका हुन् । उनका अनुसार सम्झौतामा आगामी नोभेम्बर ६ मा औपचारिक हस्ताक्षर गरिनेछ ।
यो अमेरिकी क्याथोलिक चर्चसँग सम्बन्धित यौन दुर्व्यवहारका मुद्दामा भएको दोस्रो ठुलो क्षतिपूर्ति सम्झौता हो । यसअघि सन् २०२४ मा लस एन्जलसको आर्कडायोसेसले पीडितहरूलाई ८८ करोड डलर क्षतिपूर्ति दिन सहमति जनाएको थियो ।
द न्युयोर्क टाइम्स का अनुसार न्युयोर्कको आर्कडायोसेसविरुद्ध उजुरी दिएका करिब १ हजार ३०० पीडितमध्ये प्रत्येकले कम्तीमा २ लाख ५० हजार डलर पाउनेछन् । दुर्व्यवहारको गम्भीरताका आधारमा केही पीडितले त्योभन्दा बढी रकमसमेत पाउन सक्नेछन् ।
आर्कबिसप हिक्सले आफ्ना पादरीहरूलाई पठाएको इमेलमा यो सम्झौताले पीडितहरूलाई केही हदसम्म न्याय, उपचार र मेलमिलापको अवसर प्रदान गर्ने आशा व्यक्त गरेका छन् । ‘ईश्वरको कृपाले हामी सबै पीडितलाई केही हदसम्म उपचार र मेलमिलापको अनुभूति दिलाउन सक्ने अवस्थामा पुगेका छौँ,’ उनले लेखेका छन् ।
हिक्सले सम्झौतापछि आर्कडायोसेसले सुसमाचार प्रचार गर्ने, बिरामीको उपचार गर्ने, गरिब तथा आवश्यकतामा परेकाहरूलाई सहयोग गर्ने, अपरिचित र आगन्तुकलाई स्वागत गर्ने तथा बालबालिकालाई शिक्षा प्रदान गर्ने आफ्नो धार्मिक दायित्वमा पुनः पूर्ण ध्यान केन्द्रित गर्न सक्ने बताएका छन् ।
न्युयोर्क राज्यमा क्याथोलिक चर्चविरुद्ध एक हजारभन्दा बढी दाबी पेस गर्ने पीडितहरूको प्रतिनिधित्व गरेका वकिल जेफ एन्डरसनले सम्झौतालाई न्याय प्राप्तिको दिशामा महत्त्वपूर्ण उपलब्धि भनेका छन् ।
उनका अनुसार पीडितहरूको साहस, त्याग र दृढताले चर्चलाई विगतका घटनाप्रति जवाफदेही बनाउने प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
वर्षौँदेखिको यौन दुर्व्यवहार विवाद
अमेरिकाको क्याथोलिक चर्च सन् २००० को दशकको सुरुदेखि नै पादरीहरूबाट हुने यौन दुर्व्यवहारसम्बन्धी विवादमा पर्दै आएको छ । त्यस अवधिमा सञ्चारमाध्यमहरूले गरेको अनुसन्धानबाट दशकौँसम्म हजारौँ बालबालिका पादरीहरूबाट यौन दुर्व्यवहारमा परेको तथ्य सार्वजनिक भएको थियो । कतिपय घटनामा चर्चका अधिकारीहरूले दुर्व्यवहारका घटनालाई सार्वजनिक गर्नुभन्दा सम्बन्धित पादरीलाई अर्को स्थानमा सरुवा गर्ने गरेको पनि खुलासा भएको थियो ।
यी घटनापछि अमेरिकाका विभिन्न चर्च तथा धार्मिक संस्थाले पीडितलाई क्षतिपूर्ति दिन करोडौँ डलर खर्च गर्नुपरेको छ । कतिपय संस्थाले लामो कानुनी प्रक्रियाबाट बच्न अदालतबाहिरै क्षतिपूर्ति सम्झौता गरेका छन् ।
गत जुनमा सान फ्रान्सिस्कोको आर्कडायोसेसले पनि आफ्ना पादरीबाट यौन दुर्व्यवहारमा परेका करिब ५३० पीडितलाई ३९ करोड ५० लाख डलर क्षतिपूर्ति दिन सहमति जनाएको थियो ।
न्युयोर्कको पछिल्लो सम्झौताले अमेरिकी क्याथोलिक चर्चमा विगतमा भएका यौन दुर्व्यवहारका घटनामा पीडितलाई क्षतिपूर्ति दिने र संस्थागत जवाफदेहिता सुनिश्चित गर्ने प्रयासलाई थप महत्त्व दिएको छ ।
