• Saturday 31st of October 2026

जाडो मौसममा बालबालिका: यसरी चिसोबाट राख्नुहाेस् सुरक्षित


  • धनकुटा खबर
  • .

काठमाडाैं, १४ कार्तिक । जाडो मौसम सुरु भएपछि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरू रुघाखोकी, ज्वरो, निमोनिया, दम र छालाको संक्रमण जस्ता समस्याबाट छिटो प्रभावित हुन सक्छन्।

बालबालिकालाई चिसोबाट बचाउन र सुरक्षित राख्न अपनाउन सकिने मुख्य उपायहरू यस प्रकार छन्:

 

लगाउने कपडामा ध्यान: बालबालिकालाई एकैपटक धेरै बाक्लो कपडा लगाउनुभन्दा तह–तह गरेर लगाउनुहोस्। यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्न मद्दत गर्छ। छाती, टाउको, कान र खुट्टाको पैतला न्यानो राख्नुपर्छ। बाहिर निस्कँदा टोपी, मफ्लर, पन्जा र तातो जुत्ता/मोडा लगाउने बानी बसाल्नुहोस्।

 

पोषणयुक्त आहार र झोलयुक्त पदार्थ: शरीरलाई न्यानो राख्न र ऊर्जा प्रदान गर्न तातो झोल, सुप, मनतातो पानी, दुध तथा पौष्टिक खाना खुवाउनुहोस्। ६ महिनाभन्दा माथिका बालबालिकालाई झोल पदार्थका साथै ताजा फलफूल र घरेलु पोषिलो खाना नियमित दिनुहोस्।

 

घरको वातावरण न्यानो राख्ने: कोठाभित्र चिसो हावा आउन नदिन झ्यालढोका बन्द राख्ने गर्नुहोस् तर हावा आवतजावत हुने कुरामा भने ध्यान दिनुहोला। हिटर वा आगो बाल्दा कोठामा निसासिन सक्ने खतरा (कार्बन मोनोअक्साइड) हुने हुनाले विशेष सावधानी अपनाउनुहोस्। बालबालिकालाई आगो वा हिटरबाट सुरक्षित दूरीमा राख्नुहोस्।

 

व्यक्तिगत सरसफाइ: जाडोमा पनि साबुनपानीले नियमित रूपमा हात धुने बानी बसाल्नुहोस्, जसले भाइरस र ब्याक्टेरियाको संक्रमणबाट बचाउँछ। रुघाखोकी वा संक्रमित व्यक्तिको सम्पर्कबाट बालबालिकालाई टाढा राख्नुहोस्।

 

नियमित स्वास्थ्य जाँच र खोप: बालबालिकालाई समयमै लगाउनुपर्ने सबै खोपहरू पूरा गराउनुहोस्। यदि श्वास फेर्न गाह्रो भएमा, छाती घ्याइँ-घ्याइँ गरेमा, लगातार खोकी लागेमा वा उच्च ज्वरो आएमा घरमा मात्र नराखी तुरुन्तै नजिकैको बालरोग विशेषज्ञ वा स्वास्थ्य संस्थामा जँचाउनुहोस्।

 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖