पोखरा । सामाजिक सञ्जालमार्फत भ्रामक सूचना तथा भिडियो फैलाएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।
कास्की प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि गोरखा पठाएको छ। गृहमन्त्री सुधन गुरुङको गोरखामा आयोजित कार्यक्रमलाई लक्षित गरी भ्रामक भिडियो तथा सूचना सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीका इन्स्पेक्टर दीपक रिजालले गोरखामा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको र अधिकारीको लोकेसन कास्कीमा देखिएपछि पक्राउ गरेर गोरखा पठाइएको बताएका छन्।
यता, नेकपाले गृहमन्त्रीकै निर्देशनमा पक्राउ गरिएको आरोप लगाएको छ। वाईसीएल नेपाल कास्कीले पनि अधिकारीको निःशर्त रिहाइको माग गर्दै राजनीतिक आस्था र सरकारको आलोचनाका आधारमा धरपकड नगर्न आग्रह गरेको छ।
वाईसीएलले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र राज्यशक्तिको दुरुपयोग रोक्न माग गरेको छ।
