काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिएको जानकारी गराएका हुन्।
जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएको विषयमा प्रश्न उठेपछि उनको राजदूत नियुक्ति प्रक्रिया विवादमा परेको थियो। संविधानको धारा २९१ अनुसार विदेशी स्थायी आवासीय अनुमति लिएका व्यक्तिको नियुक्तिसम्बन्धी व्यवस्थामाथि सांसदहरूले प्रश्न उठाएका थिए।
थापाले पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि समितिले थप विवरण मागेको थियो। सुनुवाइका क्रममा उठेका प्रश्न र स्वार्थको द्वन्द्वको विषयपछि उनले नाम फिर्ता लिने निर्णय गरेका हुन्।
