काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णालीले दिएको लक्ष्य अन्तिम ओभरमा पूरा गर्दै जित निकालेको हो।
कर्णालीले दिएको लक्ष्य पछ्याएको काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
काठमाडौंको जितमा राशिद खानले अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा ५० रन बनाए। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे। उनले ४ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै जाहान्दाद खानले अविजित २२ र सन्तोष यादवले अविजित ५ रन बनाए। डेभिड वार्नरले १६, मोहम्मद आदिल आलमले २० र स्मित पटेलले ९ रन बनाए।
कर्णालीका लागि हुसेन तलतले २ तथा सोमपाल कामी, नन्दन यादव र मार्क वाटले समान १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाउँदा हुसेन तलतले ४० रन जोडे। पवन सर्राफले अविजित ३० र गुल्सन झाले २० रन बनाए।
काठमाडौंका लागि करण केसीले २ विकेट लिए। शाहब आलम, जाहान्दाद खान, देव शाह र सन्तोष यादवले समान १ विकेट लिए।
