• Tuesday 3rd of November 2026

विपक्षी गोलकिपरसँग ठोक्किँदा टेनेरिफका स्ट्राइकर जिसस डे मिगेलको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडाैँ । स्पेनको दोस्रो डिभिजन फुटबल क्लब टेनेरिफका स्ट्राइकर जिसस डे मिगेलको खेलका क्रममा भएको गम्भीर चोटका कारण मृत्यु भएको छ ।

३० वर्षीय डे मिगेल सोमबार एन्डोराविरुद्धको खेलमा गोलकिपर जिसस ओवोनोसँग ठोक्किएपछि घाइते भएका थिए ।

उक्त टक्करमा डे मिगेलको टाउको र छातीमा चोट लागेको थियो । उनलाई चुनौती दिने क्रममा गोलकिपर ओवोनोले रातो कार्ड पाएका थिए ।

सोमबार डे मिगेलको अवस्था ‘स्थिर तर गम्भीर’ रहेको बताइएको थियो । तर, मंगलबार बिहान उनको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो। उनको स्थानीय समयअनुसार बिहान ८ बजे मृत्यु भएको हो ।

टेनेरिफ क्लबले एक विज्ञप्ति जारी गर्दै डे मिगेलको निधनको पुष्टि गरेको छ । क्लबले भनेको छ, ‘हृदयविदारक पीडाका साथ र यो सत्य हो भन्ने विश्वास गर्न नसकिरहेको अवस्थामा सीडी टेनेरिफ जिसस डे मिगेल अलामेडाको दुःखद निधनको घोषणा गर्दछ।’

क्लबले उनको परिवार, आफन्त र टेनेरिफका समर्थकप्रति समवेदना व्यक्त गर्दै यस क्षतिले निम्त्याएको पीडा कम गर्ने कुनै शब्द नभएको जनाएको छ। डे मिगेलको परिवारले प्राप्त सबै साथ र समवेदनाप्रति आभार व्यक्त गरेको छ । साथै, यस कठिन समयमा परिवारको निजी जीवन र गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖