काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा खिचिएका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राईलाई पक्राउ गरेको हो ।
राईले एक महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर र भिडियोहरू सामाजिक सञ्जाल ‘टेलिग्राम’ मार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको प्रहरीले जनाएको छ। पीडित महिलाले दिएको उजुरीका आधारमा खटिएको ब्युरोको टोलीले प्राविधिक अनुसन्धान तथा विश्लेषणपछि राईलाई कात्तिक १९ गते काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट पक्राउ गरेको थियो।
त्यसैगरी, सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्वीटर) मार्फत अश्लील भिडियो तथा तस्बिर सार्वजनिक गरिदिने धम्की दिने अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डेलाई महिलाको चरित्र हत्या गरेको आरोपमा ब्युरोले कात्तिक १९ गते नै काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो। पाण्डेले आफूसँग अश्लील भिडियो र तस्बिर रहेको भन्दै पीडितलाई धम्काउने गरेको अनुसन्धानबाट खुलेको छ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिपक राज अवस्थीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ। अदालतले अनुसन्धानका लागि विकल्प राईलाई ५ दिन र सुजन पाण्डेलाई ४ दिनको म्याद दिएको छ र हाल यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जनाएको छ।
