काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका नेकपा एमालेका तत्कालीन सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामुक्त भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी करिब ४२ महिना जेल बसेर बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। काठमाडौँ जिल्ला अदालतको आदेश तथा संशोधित कैदीपुर्जीका आधारमा उनी मुक्त भएको जनाइएको छ।
रायमाझी २०८० वैशाख ३१ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। पक्राउ पुर्जी जारी भएपछि १० दिनसम्म फरार रहेका उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए।
काठमाडौँ जिल्ला अदालतले उनलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर गर्दै विभिन्न कैद तथा जरिवानाको सजाय सुनाएको थियो। अदालतले ठगीमा दुई वर्ष, संगठित अपराधमा तीन वर्ष, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना र एकीकृत कसुरमा चार वर्ष कैद सजाय तोकेको थियो।
थुनामुक्त भएपछि रायमाझीले छिन्नमस्ता मन्दिरको दर्शन गरेका थिए। त्यसपछि ललितपुरको सातदोबाटोस्थित निवास पुगेका उनलाई परिवार तथा आफन्तले टीका र मालासहित स्वागत गरेका छन्।
पारिवारिक स्रोतका अनुसार उनी केही दिन काठमाडौँमै आराम गरेपछि गृहजिल्ला अर्घाखाँची जाने तयारीमा छन्। त्यसपछि फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारीसमेत रहेको उनी निकटस्थहरूले बताएका छन्।
२०७८ सालमा नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट सचिव निर्वाचित भएका रायमाझी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए। पक्राउपछि उनी पार्टीको सचिव र सांसद दुवै पदबाट निलम्बनमा परेका थिए।
रायमाझी थुनामुक्त भए पनि उनको आगामी राजनीतिक भूमिकाबारे एमालेले कुनै निर्णय गरिसकेको छैन। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टी नेतृत्वले आवश्यक छलफल गरेर उपयुक्त जिम्मेवारीबारे निर्णय गर्ने बताएका छन्।
