काठमाडौं । राष्ट्रिय मुद्दामा सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा रहेका विपक्षी दलहरूले अहिलेसम्म साझा र ठोस योजना बनाउन सकेका छैनन् ।
पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ–तिहारलगत्तै सडक आन्दोलनका लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए पनि विपक्षी दलबीच आन्दोलनको स्वरूप र साझा एजेन्डाबारे सहमति जुट्न सकेको छैन ।
नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेकाले त्यसपछि मात्रै आन्दोलनबारे ठोस योजना बन्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले बताएका छन् । उनका अनुसार संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका साथै सरकारका गलत गतिविधिविरुद्ध आन्दोलन गर्न एमाले तयार छ ।
आचार्यले नेपाली कांग्रेसका सभापति गगन थापासँग एमाले अध्यक्ष ओलीको भेटमा मधेस प्रदेश सरकार गठनबाहेक अन्य राजनीतिक विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । विपक्षी दलबीच आन्दोलनमा सहकार्य गर्ने विषयमा कुनै ठोस छलफल नभएको उनको भनाइ छ ।
यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता प्रकाश ज्वालाले पनि तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा जाने तयारी नरहेको बताएका छन् । पार्टी अहिले राष्ट्रिय जागरण अभियानमा केन्द्रित रहेको र मङ्सिरको अन्तिम साता बस्ने केन्द्रीय समिति बैठकले आगामी कार्यक्रम तय गर्ने उनले जानकारी दिए ।
ज्वालाका अनुसार संविधान, राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका लागि एमाले, कांग्रेसलगायत सबै पक्षसँग सहकार्य गर्ने नेकपाको नीति छ । मङ्सिर २५ गते राष्ट्रिय जागरण अभियान समापन भएपछि पार्टीले आगामी रणनीतिबारे छलफल गर्नेछ ।
नेकपाका संयोजक प्रचण्डले यसअघि वर्तमान सरकार राष्ट्रियता, सामाजिक न्याय, आर्थिक समृद्धि र जनजीविकाका सवालमा अनुदार बनेको आरोप लगाउँदै दसैँ, तिहार र छठपछि आन्दोलनको चेतावनी दिएका थिए । एमाले अध्यक्ष ओलीले पनि सरकारविरुद्ध सशक्त आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
तर, एमाले र नेकपाका नेताहरूका पछिल्ला अभिव्यक्तिले तत्कालै संयुक्त आन्दोलन सुरु हुनेभन्दा पनि आन्तरिक तयारी र राजनीतिक संवादकै चरणमा विपक्षी दलहरू रहेको देखाएको छ ।
