• Friday 9th of October 2026

जसपामा चिरा, जिल्ला–जिल्लामा समानान्तर कमिटी गठन


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा चिरा परेको छ । जिल्ला–जिल्लामा पार्टीका समानान्तर कमिटी गठन हुन थालेका छन् । पहिला पर्सामा समानान्तर कमिटी गठन भएको थियो भने बुधबार सप्तरीमा पनि समानान्तर कमिटी गठन भएको छ । पार्टीमा असन्तुष्ट पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटी गठन गर्न थालेका हुन् ।

स्रोतका अनुसार जसपाका कार्यकारिणी समिति सदस्य रेणु यादवले समानान्तर कमिटी गठनका लागि नेतृत्व गरेकी छन् । सप्तरीमा जिल्ला भेला गरी जिल्ला समन्वय समिति सप्तरीका उपाध्यक्ष उमेश यादवको नेतृत्वमा ५७ सदस्यीय समिति गठन गरिएको छ, जसमा एक जना अध्यक्ष छन् भने बाँकी सबैलाई सदस्यमा राखिएको छ ।

जसपाका कार्यकारिणी समिति सदस्य रेणु यादव, केन्द्रीय सदस्य शैलेन्द्र साह, जगदेव यादव, विनोद यादव, डा.सूर्यनारायण यादव, भीमराज यादवलगायतको उपस्थितिमा भएको भेलाले गठन गरेको समितिमा रामेश्वर यादव, निरज मुक्ति, दयानन्द गोइत, सन्तोष मण्डल, जिवछ मण्डल, सुजिता यादव, मिथलेश झा लगायत रहेको अध्यक्ष उमेश यादवले बताए ।

भेलामा १८ वटा पालिकामध्ये १२ वटा पालिकाका पराजित उम्मेदवारहरूको उपस्थिति थियो । स्थानीय तहको चुनावमा पालिका प्रमुखमा पराजित जसपाका उम्मेदवारहरूले पार्टीकै आन्तरिक कारणले आफूहरू हार्नुपरेको र त्यसमा पार्टी नेतृत्वले कुनै पनि एक्सन नलिएको गुनासो उक्त भेलामा गरेका थिए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव आफू चुनावमा पराजित भएपछि पार्टीका नेता तथा कार्यकर्तालाई जथाभाबी कारबाही गरेका छन् तर उनकै पक्षका नेताहरू आफूहरूलाई हराउन भूमिका खेल्दा पनि कसैलाई कारबाही नगरेको गुनासो उनीहरूको थियो ।

नेतृत्वको रवैयाका कारण केन्द्रदेखि जिल्ला तहसम्म नेताहरू असन्तुष्ट छन् । ती सबै असन्तुष्ट नेताहरू जिल्ला जिल्लामा गोलबन्द हुन थालेका छन् । खासगरी मधेस प्रदेशमा सबैभन्दा असन्तुष्टि रहेको जसपाका एक जना कार्यकारिणी सदस्यले बताए ।

मधेस प्रदेश कमिटीले सिरहाको लहानमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई धेरै नेताहरुले बहिष्कार गरेका थिए । केही नेताले आफूलाई प्रशिक्षणको बारेमा कुनै जानकारी नरहेको बताएका छन् ।

बुधबार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी पुगेका छन् । सप्तरीमा देखिएको विवादको बारेमा अध्यक्ष यादवले त्यहाँ छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖